वीरगन्जको फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने उक्त योजनाको औपचारिक सम्झौता भएको हो ।
What you should know
पर्सा — वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनीसीएटीभ नेपाल र सूर्य नेपाल प्रालिबीच सोमबार वीरगन्जमा फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
वीरगन्जको फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने उक्त योजनाको औपचारिक सम्झौता भएको हो । सम्झौताअनुसार, महानगरको फोहोर व्यवस्थापन केन्द्रमा पूर्ण रूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिनेछ ।
निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सूर्य नेपालका उद्योग प्रमुख सुरेशकाजी श्रेष्ठ र जिरो वेस्ट इनीसीएटीभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले वीरगन्जलाई फोहोरमुक्त र हरित सहर बनाउने दीर्घकालीन लक्ष्य प्राप्तीमा यो परियोजना कोशे ढुंगा साबित हुने बताए । उनले परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुआत गर्ने भन्दै अब फोहोरलाई समस्या नभई स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढने बताए ।
हाल महानगरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल मिली रहेकोमा यो अभियानलाई थप सशक्त बनाउन डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहोर प्रशोधन प्लान्टले सहरभरिबाट संकलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनः प्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइने उनले बताए ।
सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतिहासिक फड्को मार्ने बताउँदै महानगर प्रमुख सिंहले प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा स्थायी योगदान पुर्याउने दाबी गरे । सूर्य नेपालका उद्योग प्रमुख सुरेशकाजी महर्जनले भने यो परियोजना सम्पन्न भएपछि वीरगन्ज ‘फोहोरमुक्त, स्वच्छ र हरित सहर बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ । उनले सूर्य नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत यो लगानी गरेको भन्दै नाफामुखी व्यापारसँगै समाज र वातावरण दुवैप्रति उद्योग उत्तरदायी रहेको बताए ।
