प्रशासनको चेतावनी - अब ढाँटछल चल्दैन, काम नगरे कारबाही हुन्छ
What you should know
सिरहा — सिरहामा निर्माणाधीन अवस्थामा र निर्माणको प्रक्रियामा रहेका सडक तथा पुलको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिइएको छ । सरोकारवाला सरकारी निकाय तथा निर्माण कम्पनीलाई सिरहा प्रशासनले ढिलासुस्ती नगरी काम गर्न निर्देशन दिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायतले सोमबार हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुखसहितका प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए ।
जिल्लामा निर्माणाधीन र निर्माण प्रक्रियामा रहेको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको भौतिक संरचनाका बारेमा त्यहाँ जानकारी मागिएको थियो । सिरहामा हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत बलान-कमला सडक, गोलबजार-जमदह-लगडी गडियानी सडक र दस वटा पुल गरी १२ वटा योजना सञ्चालनमा छन् । जसमध्ये बलान खोला, कल्याणदह खोला, गल्फुधार खोलाको पुल निर्माण भइसकेको छ । तर, बलान-कमला सडकमा भने अझै अधुरै छ । यसको अहिलेसम्मको भौतिक प्रगति ९८ प्रतिशत रहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी गराए ।
यस्तै, मनहरा खोला र त्रिशुला खोलाको पुलको ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको प्रक्रियामा छ । यसैगरी, गागन खोलाको नयाँ पुलमा ९५ प्रतिशत काम भएको छ । गागन खोलाको पुरानो पुलको भने ठेक्का व्यवस्थापन भई निर्माण कार्य सुरु हुने क्रममा रहेको महतोले बताए ।
निर्देशनालयका अनुसार, सहजा खोलाको पुल र दरहिया बक्स कल्भर्टको काम भने हालसम्म पनि ३० प्रतिशत मात्रै भएको छ । मैनाबत्ती खोलाको पुलको डिजाइन स्वीकृतिको प्रक्रियामा छ । निर्माण करिबकरिब सम्पन्न भई २०७८ सालमा भासिएको कमला नदीको पुलको काम अवरुद्ध रहेकोमा फेरि काम सुरु गर्न लागिएको निर्देशनालयले जनाएको छ ।
यसैगरी, गोलबजार-जमदह-लगडी गडियानी सडकमा पहिलो खण्डमा ४५ र दोस्रो खण्डमा ३५ प्रतिशत मात्रै काम भएको छ । निर्देशनालयका प्रमुख महतोले कतै स्थानीयको आवश्यक सहयोग नहुने त निर्माण व्यवसायीकै ढिलासुस्तीले तोकिएको म्याद सकिएर पटकपटक म्याद थपिए पनि काम हुन नसकेको गुनासो गरे ।
निर्माण व्यवसायीहरूले भने साइट क्लियर नहुने, मुद्दा पर्ने तथा भुक्तानीमा हुने समस्याहरूका कारण काम गर्न नसकिएको दाबी गरेका थिए । सिरहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले योजनाहरू समयमै सम्पन्न नहुँदा नागरिकले सास्ती भोग्नुपरेको भन्दै बहानाबाजी नगरी काम गर्न निर्देशन दिएका छन् ।
काम गर्ने क्रममा आइपर्ने बाधा-अड्चन हटाउन आफूहरूले सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उनले अटेरी गर्ने पक्षलाई आवश्यक कानुनी कारबाही हुने चेतावनी दिए । प्रजिअ अधिकारीले जिल्लामा सञ्चालित अन्य योजनाका सरोकारवालासँग पनि क्रमशः छलफल गर्दै जाने जनाए ।
