हुन्डीको रकमसहित युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज–१० आदर्शनगर नबिल बैंक अगाडि शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा वीरगन्ज–१६ का १९ वर्षीय किशन यादवलाई पक्राउ गरेको थियो ।

आश्विन २७, २०८२

शंकर आचार्य

A young man was arrested with the amount of Hundi

What you should know

पर्सा — प्रहरीले हुन्डीको रकमसहित वीरगन्जबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज–१० आदर्शनगर नबिल बैंक अगाडि शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा वीरगन्ज–१६ का १९ वर्षीय किशन यादवलाई पक्राउ गरेको थियो ।

उनको शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट पाँच सय दरका ८ सय ६८ थान गरी कूल चार लाख ३४ हजार फेला परेको थियो । यादवलाई नियन्त्रणमा लिई उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १ सय २५ को (क) बमोजिम हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

सीमावर्ती भारतीय बजारहरुमा नेपाली उपभोक्ताहरु किनमेल गर्न जाँदा दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा भारतीय बजारहरुमा जम्मा हुने गर्दछ । वीरगन्जको सीमामा रहेको भारतीय बजारमा पनि दैनिक ठूलो संख्यामा नेपाली उपभोक्ताहरु किनमेलका लागि जाने गर्छन् । यसरी भारतमा जम्मा हुने नेपाली मुद्रा भारतीय व्यापारीहरुले भरियाको माध्यमबाट नेपाल पठाउने गर्छन् । भारतबाट नेपालतर्फ नेपाली मुद्रा ल्याउने क्रममा भरियाहरु बेला बेलामा पक्राउ पर्छन् । 

एक देशबाट अर्को देशमा बैंकिंग च्यानलबाट मात्र मुद्रा आदानप्रदान हुने नियम रहेकोमा सीमावर्ती बजारहरुमा परम्परागत रुपमा एकध अर्को मुलुकको मुद्रामा बिनिमय गर्ने र ती मुद्रा विभिन्न माध्यमबाट एक अर्को मुलुकमा जाने क्रम चलिरहन्छ । समय समयमा हुन्डी कारोबारमा संलग्न हुने व्यक्तिहरु पक्राउ परी रहने गरे तापनि कारोबारी हतोत्साहित भने हुँदैनन् ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully