जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेशनमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एकजना मुख्य–सचिव, तीन जना सचिव र एकजना कोषाध्यक्ष र बाँकी सदस्य चयन हुने छन् ।
What you should know
जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको पहिलो अधिवेशन सोमबारदेखि जनकपुरधाममा हुने भएको छ । पहिलो अधिवेशनबाट ५१ सदस्यीय समिति चयन हुने लागेको हो ।
पार्टीको मधेश प्रदेश कमिटीले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर अधिवेशनबारे जानकारी गराएका छन् । प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने बताए । उनका अनुसार वडा, पालिका र जिल्ला अधिवेशनहरु सम्पन्न गरेर मधेश प्रदेश अधिवेशन हुन लागेको उनले बताए । उनका अनुसार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेशनमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एकजना मुख्य–सचिव, तीन जना सचिव र एकजना कोषाध्यक्ष र बाँकी सदस्य चयन हुने छन् । चयन हुने समितिको १५ प्रतिशत सदस्यपछि मनोनयन हुने उनले जानकारी दिए ।
अधिवेशनमा अहिलेसम्म दुई जनाले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष यादव, मधेश प्रदेशका पूर्व राज्यमन्त्री योगेन्द्र यादवले उम्मेदवारीको घोषणा गरिसकेका छन् भने पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव पनि आन्तिरक कसरत गरिरहेका छन् । योगेन्द्र यादवले उम्मेदवारी घोषणा गरिसकेको र मत माग्न जिल्ला दौडाहामा रहेको बताए । विगतको आन्दोलनबाट उठाइएको केही माग अझै पूरा नभएको हुनाले त्यसतर्फ पार्टीलाई सक्रिय बनाउनको लागि उम्मेदवारी दिन लागेको बताए ।
वर्तमान प्रदेश समितिको आलोचना गर्दै उनले सदन र सडकमा निष्क्रिय बनाएको आरोप लगाए । त्यसकारण केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर प्रदेशमा अध्यक्षमा उम्मेदवारी दिन लागेको उनले सुनाए । ‘अहिलेसम्म हाम्रो पार्टीको प्रदेशको नेतृत्वपंक्ति चुकेको छ । नेता कार्यकर्तामा सोही कारण निराशाा देखिएको छ,’ उनले भने, ‘त्यसकारण प्रदेशको नेतृत्व चालयमान बनाउन, मजबुत बनाउन र युवाको पनि प्रतिनिधित्व गर्न प्रदेश अध्यक्षमा दाबी गरेको छु ।’ प्रदेश सभा सदस्य भई भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारीमा रहेका उनी समाजवादी युवा संघमा दुई कार्यकाल र दस वर्षदेखि केन्द्रीय समितिमा रहेर काम गरेको दाबी गरे ।
जसपाको वर्तमान प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले पनि प्रदेश अध्यक्षमा दाबी गरेका छन् । संगठन सुदृढ गर्न, संकटबाट रक्षा गर्न आफू उम्मेदवार बन्ने उनले बताए । संविधान संशोधनसहितको प्राप्त उपलब्धि रक्षा गर्न र थप उपलब्धि हासिल गर्न उम्मेदवारी दिने उनले बताए । उनी केन्द्रीय कार्य समिति सदस्य र ट्रेड युनियन राष्ट्रिय अध्यक्ष भइसकेका छन् ।
पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले समन्वय गर्ने भूमिकामा रहेको हुनाले अहिलेसम्म खुलेर अध्यक्षको दाबी नगरेको बताए । ‘इच्छा छ । तर, पहिला सर्वसहमतिको प्रयास गर्छौं । आवश्यकता परे उम्मेदवारी पनि दिन्छु । अहिले नै घोषणा गर्न सक्ने अवस्था छैन,’ उनले भने ।
