जेन-जी आन्दोनलका घाइते थापा सम्मानित

ठोरी गाउँपालिका–२ इच्छानगरका युवा नेत्रबहादुर थापालाई शुक्रबार सम्मान गरिएको हो ।

आश्विन २५, २०८२

शंकर आचार्य

Wounded Thapa of Gen-G Andonal honored

पर्सा — जेन-जी आन्दोलनमा गोली लागी घाइते भएका ठोरी गाउँपालिका–२ इच्छानगरका युवा नेत्रबहादुर थापालाई शुक्रबार सम्मान गरिएको छ ।

स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्ड कप–२०८२ कार्यक्रमको अवसरमा थापालाई पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठक र ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले न्याय, समता र रूपान्तरणका निम्ति ज्यानको पर्वाह नगरी संघर्षमा होमिएका थापाको साहस प्रशंसनीय भएको बताए । पर्सागढीका मेयर पाठकले थापाको आत्मबलले जिल्लाबासीको गौरव बढाएको बताए ।

थापालाई प्रदान गरिएको सम्मानले देशभरका युवा पुस्तामा समानता र रूपान्तरणको भावना जागृत हुने अपेक्षा पनि उनले व्यक्त गरे । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully