जिल्ला स्वास्थ्य कार्यालय पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियान संचालनबारे जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा आइतबारदेखि सुरु हुने खोप अभियान कार्यक्रमबारे जानकारी दिइएको हो ।
What you should know
पर्सा — हैजा संक्रमण देखिएको डेढ महिनापछि वीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै स्थानीय तहमा हैजाविरुद्धको खोप कार्यक्रम संचालन गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियान संचालनबारे जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा आइतबारदेखि सुरु हुने खोप अभियान कार्यक्रमबारे जानकारी दिइएको हो ।
विश्व स्वास्थ्य संगठन नेपालका चिकित्सक डा. पवन उपाध्यायले विश्व स्वास्थ्य संगठनले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा यो अभियान संचालन गर्न लागेको बताए । आइतबारदेखि कात्तिक २ सम्म पर्सामा १४ वटै स्थानीय तहमा एकैसाथ यो कार्यक्रम संचालन गरिँदैछ । साथै पर्सासँग जोडिएको बाराका कलैया र जीतपुर सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिका गरी आधा दर्जन स्थानीय तहमा पनि यो कार्यक्रम संचालन गर्न लागिएको उपाध्यायले बताए ।
उनले १ वर्षदेखि माथि उमेरका सबैले यो खोप लिन सक्ने बताए । मुखबाट सेवन गरेर लिन सकिने यो खोप १ वर्षसम्म ८० प्रतिशतसम्म प्रभावकारी हुने उनले दाबी गरे ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीहरुसमेत गरी करिब २ सय ५० जनाले यो खोप लिएर कार्यक्रम उद्घाटन गर्ने बताए । खोप कार्यक्रमका लागि यसअघिका अन्य खोप कार्यक्रम संचालन गर्दा खटिने जनशक्तिहरु नै खटिने छन् । पर्सा जिल्लामा ६ लाख ५२ हजार १ सय २९ जनालाई यो खोप दिने लक्ष्य रहेको उनले बताए ।
तोकिएका केन्द्रहरु र घरभेट कार्यक्रमबाट पनि यो खोप लिने सकिने बताउँदै ठाकुरले यो खोप सुरक्षित रहेको पनि दाबी गरे । भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई, अदालत आदि सरकारी कार्यालयमा आउने सेवा ग्राही, बसपार्कमा भेटिने यात्रुहरुलाई पनि यो खोप दिने लक्ष्य रहेको उनले बताए ।
ठाकुरले भदौ ५ देखि वीरगन्जमा हैजा संक्रमण देखिएकोमा वीरगन्जका विभिन्न अस्पतालमा गरी १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा ती मध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको उनले बताए । यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको उनले बताए ।
हालसम्म गरिएका परीक्षणहरुबाट वीरगन्जका विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला नपरेको उनले बताए ।
