स्थानीय, इलाका प्रहरी कार्यालय रुपनी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
राजविराज — सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा बिहीबार राति आगलागी हुँदा जलेर एक जना घाइते भएका छन् । ७ वटा घरमा क्षति पुगेको छ ।
घरमा भएका नगद, गरगहना, अन्नपात, लत्ताकपडा र पशुचौपाया जल्दा ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
स्थानीय ललित यादवको घरमा जडान गरिएको मिटरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादवको ढाड र हात जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । घाइते यादवको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ । उनको अवस्था समान्य छ ।
आगलागीमा ललितका दुई वटा घरसहित नगद, गरगहना दुई वटा खसी, एक–एक वटा गाई, भैंसी र बाख्रा जलेको छ । ललितसहित उनका छोराहरु सुनिल र श्यामसुन्दरको पनि दुई/दुई वटा घर तथा छोरी पार्वतीदेवीको एउटा घर र तीनै जनाको घरमा भएको नगद, गरगहना, अन्नपात, पशुचौपाया जलेका डीएसपी पुरीले बताए ।
आगो स्थानीय, इलाका प्रहरी कार्यालय रुपनी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।
