दसैं, तिहार स्ता चाडपर्व लक्षित तयारी कपडा र थान कपडा बोकेका कन्टेनरहरु दसैंअघिदेखि नै वीरगन्ज भन्सार नाका हुँदै भित्रिने क्रम बढेको हो ।
What you should know
पर्सा — पटकपटकको बाढी, पहिरोले उत्तरी नाकाहरु तातोपानी र रसुवा भन्सार नाका अवरुद्ध भएपछि ती नाकाबाट भित्रिने चिनियाँ वस्तु वीरगन्ज नाकातर्फ ‘डाइभर्ट’ भएका छन् ।
दसैं, तिहार स्ता चाडपर्व लक्षित तयारी कपडा र थान कपडा बोकेका कन्टेनरहरु दसैंअघिदेखि नै वीरगन्ज भन्सार नाका हुँदै भित्रिने क्रम बढेको हो । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत काजीबाबु कोइरालाले दसैंअघिदेखि नै दैनिकजसो ५ देखि ७ कन्टेनर चिनियाँ कपडा यो भन्सारबाट जाँचपास भइरहेको बताए । ‘दैनिक ५ देखि ७ कन्टेनर चिनियाँ कपडा जाँचपास भइरहेका छन्,’ उनले भने, ‘नियमितभन्दा बढी चिनियाँ कपडा जाँचपास भइरहेका छन्, काम गर्ने मानिस पनि नयाँ देखिएका छन्, त्यसकारण पनि हामीले उत्तरी नाकाबाट कन्टेनर डाइभर्ट भएर यो नाका हुँदै भित्रिन थालेको अनुमान गरेका हौं ।’
नेपालको उत्तरी नाकाको सबैभन्दा नजिकको चिनियाँ व्यापारीक केन्द्र ग्वान्झाओ र यो सांघाई पछि चीनको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिन्छ । नेपाली आयातकर्ताले सबैभन्दा बढी ग्वान्झाओबाटै मालबस्तु आयात गर्छन् । उत्तरी नाकाबाट भित्रिने चिनियाँ मालबस्तु सुरुमा सिगात्सेसम्म रेलबाट आउने गर्छ । त्यसपछि ट्रकमा नेपालका नाकाहरुसम्म ल्याउने गरिन्छ ।
नाका परिवर्तन भएपछि आयातकर्ताहरुले ग्वान्झाओबाट पानी जहाजमा सोझै वीरगन्ज नाकाको नजिक पर्ने भारतीय बन्दरगाह कोलकाता हुँदै वीरगन्जसम्म आफ्नो मालबाहक कन्टेनर ल्याउँछन् । त्यसैगरी कतिपय आयातकर्ताले आआफ्नो सुविधाअनुसार भैरहवा र विराटगर नाकाबाट पनि मालबस्तु ल्याउँछन् ।
सामान्य अवस्थामा पनि वीरगन्ज नाकाबाट देशकै कुल आयात निर्यात व्यापारको झन्डै आधा आयात निर्यात हुन्छ । चाड पर्वको महिना भएकाले भदौ र असोज महिनामा यो भन्सारको राजस्व असूली तुलनात्मक रुपमा उत्साहजनक रहेको कोइराला बताउँछन् ।
दिनमा औसत ७२ करोड हाराहारीमा राजस्व संकलन गरिरहेको यो भन्सार कार्यालयले हालका दिनहरुमा दैनिक सरदर ८४ करोड रुपैयाँसम्म राजस्व असुली गरिरहेको उनले जनाए ।
