नारायणी अस्पतालमा बल्ला आयो एन्टी रेबिज भ्याक्सिन

संघीय स्वास्थ्य विभागले पठाएको चार सय भाइल भ्याक्सिन प्रादेशिक स्वास्थ्य विभाग हुँदै अस्पतालसम्म आइपुगेको उनले बताए ।

आश्विन २३, २०८२

शंकर आचार्य

Anti-rabies vaccine has arrived at Narayani Hospital

पर्सा — लामो अभावपछि वीरगन्जस्थित नारायणी अस्पतालमा रेबिजको भ्याक्सिन आएको छ । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले करिब तीन महिनाको प्रतिक्षापछि एन्टी रेबिज भ्याक्सिन अस्पतालमा आएको बताए ।

संघीय स्वास्थ्य विभागले पठाएको चार सय भाइल भ्याक्सिन प्रादेशिक स्वास्थ्य विभाग हुँदै अस्पतालसम्म आइपुगेको उनले बताए । एक भाइलमा तीन डोज हुने र त्यो एक जनालाई भ्याक्सिनको डोज दिन पुग्ने उनले बताए । ‘एक भाइलमा तीन डोज भ्याक्सिन हुन्छ,’ उनले भने, ‘यसरी कम्तीमा चार सय जनाले अस्पतालबाट भ्याक्सिनको सेवा पाउने छन् ।’

अस्पतालका दैनिक सरदर १० देखि १५ जनासम्म पनि कुकुर, बिरालो आदिले टोकेका बिरामी भ्याक्सिन खोज्दै आउन गरेका छन् । यस अनुपातमा हाल प्राप्त भ्याक्सिनले मुस्किलले एकदेखि डेढ महिनासम्म मात्र माग धान्ने छ । त्यसपछि फेरि भ्याक्सिनको अभाव हुने छ । 

यस भेगकै सदर अस्पताल नारायणी अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको अभाव हुँदा स्थानीयलाई ठूलो समस्या भइरहेको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully