जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, होटलको कोठा नम्बर १११ मा बास बसेका बाबुछोराले मंगलबार दिनभरि ढोका नखोलेपछि होटेलका कर्मचारीले भेन्टिलेसनबाट कोठामा हेर्दा दुवैजना मृत देखेर प्रहरीलाई खबर गरेका थिए ।
पर्सा — वीरगन्जको एक होटेलमा बाबुछोरा मृत फेला परेका छन् । वीरगन्ज बसपार्कस्थित साह प्याराडाइज होटेलमा भारत त्रिपुरा राज्य घर भएका ६७ वर्षीय बुवा सजल अचारजी र उनका छोरा २४ वर्षीय सागर अचारजी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, होटलको कोठा नम्बर १११ मा बास बसेका बाबुछोराले मंगलबार दिनभरि ढोका नखोलेपछि होटेलका कर्मचारीले भेन्टिलेसनबाट कोठामा हेर्दा दुवैजना मृत देखेर प्रहरीलाई खबर गरेका थिए ।
मंगलबार राति १० बजेतिर प्रहरी घटनास्थलमा पुगेको थियो । आइतबार साँझ सवा ४ बजे उनीहरु होटेलको कोठामा बास बस्न आइपुगेका थिए । सोमबारपछि उनीहरु कोठाबाट बाहिर आएका थिएनन् ।
प्रहरीले बुधबार बिहान ढोका फुटाएर हेर्दा छोरा सागर झुण्डिएको र बुवा सजल कोठाको ओछ्यानमा लडिरहेका थिए । कोठामा उनीहरुले राखेको सामान हेर्दा कतैबाट बास छोडेर आएको जस्तो देखिन्छ । डीएसपी लम्सालले उनीहरु काठमाडौं वा अन्य सहरबाट बसाइँ सरेर भारततर्फ जान लागेको अनुमान गरेको बताए । कोठाको ढोका फुटाउँदा फरेन्सिक चिकित्सकसमेत बोलाएर अनुसन्धान गरिएको छ ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासलाई घटनाबारे पनि जानकारी गराइएको डीएसपी लम्सालले बताए । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।