रौतहटको सबगढामा बस दुर्घटना

लगातारको वर्षाले लचकामा पानी जम्दा गौर सडक अवरुद्ध भएको छ भने १६ यात्रु सवार बस डुबेको घटनामा सबैलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Bus accident at Sabgadha in Rautahat

रौतहट — रौतहटको गौर नगरपालिका–६ सबगढास्थित लचकामा बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभए पनि बसको आधा भाग डुबेको छ ।

लगातारको वर्षा पछि लचकामा पानी जमेकाले सदरमुकाम गौर खण्ड अवरुद्ध भएको छ । यही अवस्थामा बस चलाउने प्रयास गर्दा पानीमा डुबेको हो । जिल्ला प्रहरी कार्यालय गौरले दुर्घटनामा बसका यात्रुहरू सकुशल रहेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ना ४ ख ५३१८ नम्बरको यात्रुबस लचका तर्ने क्रममा अनियन्त्रित भई बाटोको बायाँ साइडको केही भाग डुबेको छ । बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई उद्धार गरेर बाहिर निकालिएको छ ।

पानीका कारण लचकामा केही दिनदेखि बाटो अवरुद्ध छ । बस निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully