सिरहामा दलितको घर तोडफोड घटना : वडाध्यक्षलगायतमाथि अदालतबाट म्याद थप

सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरूमाथि म्याद थप गरेको हो ।

आश्विन २१, २०८२

विनय आजाद

Dalit house vandalism incident in Siraha: Ward president and others have been extended by the court

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका-८ अरङमा दलितको घर भत्काउने घटनामा पक्राउ परेका वडाध्यक्षलगायतमाथि अदालतबाट म्याद थप भएको छ । सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि उनीहरूमाथि म्याद थप गरेको हो ।

अदालतले पहिलोपटक वडाध्यक्ष रामकिशोर यादवमाथि ६ दिन र कैलाश सिंह तथा गणेश कामतीमाथि ७ दिनको म्याद दिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेशराज पुरीले जानकारी दिए ।

यस्तै, प्रहरीले आरोपीमध्येका कल्याणपुर-९ का मनोजकुमार यादवलाई पनि मंगलबार अपराह्न पक्राउ गरेको छ । उनलाई बुधबार म्याद थपका लागि अदालत लगिने डीएसपी पुरीले जनाए ।

यस घटनामा १३ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ । जसमध्ये चार जनालाई प्रहरीले पक्राउ गरे पनि मुख्य आरोपी प्रभास सिंहसहित ९ जना अझै फरार छन् । उनीहरूको खोजतलास भइरहेको छ ।

उनीहरूले गत शुक्रबार दिउँसो अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समुदायका स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा तोडफोड गर्दै लुटपाट मच्चाएका थिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully