उपचार अभावमा बुवाआमा गुमाएका दलित बालकको बेहाल

किरिया खर्च छैन, बाढीले अन्नपात सबै बगायो ।

आश्विन २०, २०८२

विद्यानन्द राम

The plight of a Dalit child who lost his parents due to lack of treatment

What you should know

राजविराज — शनिबार साँझदेखि भएको भीषण वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित सदा टोल जलमग्न भयो । त्यहाँका करिब ४० परिवारको घर डुवान हुँदा १५ वर्षीय शिवनारायण सदाको पनि घरमा बाढी पसेर भएभरको अन्नपात बगायो । आमा विजलीदेवी सदाको किरियामा बसेका शिवनारायणले गाउँमा ज्याला मजदुरी गरेर जम्मा गरेको अन्नपात पनि बाढीले बगाएपछि अहिले बालकको बेहाल छ ।

कोशी नदीको पश्चिमी तटबन्ध छेउमा वर्षौंदेखि बसोबास गर्दै आएका शिवनारायणका बुवा सुरेन्द्र सदाको ३० वर्षको उमेरमा एक वर्षअघि नै उपचार अभावमा मृत्यु भएको थियो ।

‘बुवाको ढाडमा बेलबखत बेसरी दुख्दा रुनुहुन्थ्यो,’ शिवनारायणले दुखेसो पोखे, ‘यहीँका स्वास्थ्य चौकी र अस्पतालमा उपचार पनि गराउनुभयो । थप उपचारका लागि बाहिर लग्न डाक्टरले भन्नुभएको थियो तर पैसा अभावमा बुवाको थप उपचार हुन सकेन ।’ दुई महिनासम्म निरन्तर दुखाइको पीडा सहन नसकेर बुवा बितेको उनले सुनाए ।

त्यसपछि आमासँगै गाउँ र बजारतिर ज्याला मजदुरी गरेर छाक टार्दै आए पनि एक महिनाअघि आमा बिरामी परेको शिवनारायणले बताए ।

‘चोकबाट गोटी (ट्याब्लेट) ल्याएर दिए पनि १५/१७ दिनसम्म ज्वरो निको भएन,’ उनले भने, ‘ठूलो अस्पतालमा लगेर उपचार गराउन हामीसँग पैसा नभएपछि माइती (सुनसरीको कुम्याही) पुगेर उपचार गराउने आमाले भन्नुभयो, मैले पनि हुन्छ भनेँ ।’ तर, त्यहाँ पुगेको दुई दिनमा गत सोमबार २९ वर्षकै उमेरमा विजलीदेवीको पनि मृत्यु भएपछि शिवनारायण बेसहारा त भए नै, अहिले उनलाई आमाको किरिया गर्न पनि खर्च छैन भने बाढीले अन्नपात पनि बगाइदिँदा छाक टार्न कठिन भइरहेको छ । 

‘किरिया बसेको चौथो दिनको भोज त दिदी (कोशिलाकुमारी)ले गर्नुभयो तर दिदी–भिनाजुले पनि ऋण लिएर खर्च गर्नुभएको छ,’ शिवनारायणले भने, ‘अब के गरी परम्परा निर्वाह गर्ने भन्ने चिन्ता त छ नै, बाढीले छाक टार्ने समस्या पनि थप्दा झन् पीडा थपिएको छ ।’ 

बाढीले घर डुवान हुँदा सडक पेटीमा त्रिपालमुनि दुई दिनदेखि भातै नखाई बसिरहेका ४० दलित परिवारमाथि अझै जनप्रतिनिधिको ध्यान नपुगेको भन्दै शिवनारायणले गुनासो गरे । ‘म त समस्यामा छु नै, बाढीपछि यहाँका अधिकांश परिवारमा चुल्हो बलेको छैन, भुजा र चाउचाउ खाएर बसिरहेका छन्,’ उनले भने ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully