सिरहामा घर भत्काइएका दलितलाई कल्याणपुर नगरपालिकाको राहत

गत शुक्रबार घर भत्काइएका पाँच पीडित दलित परिवारलाई नगरपालिकाले राहत सामग्री प्रदान गरेको हो ।

आश्विन २०, २०८२

विनय आजाद

Relief of Kalyanpur Municipality to Dalits whose houses were demolished in Siraha

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका-८ अरङका दलित परिवारलाई नगरपालिकाले राहत सामग्री प्रदान गरेको छ । गत शुक्रबार घर भत्काइएका पाँच पीडित दलित परिवारलाई नगरपालिकाले राहत सामग्री प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार चामल २५ किलो, दाल ५ किलो, चुरा ५ किलो, मुरही ५ किलो, स्वाबिन १ किलो, आलु ५ किलो, प्याज ५ किलो, आटा ५ किलोसहित, तेल, नुन, बेसार, अदुवा, लसुन, दालमोठ, बिस्कुट, लुगा धुने साबुन, नुहाउने साबुन, मिक्स मसालालगायतका सामग्री उपलब्ध गराइएको छ ।

पीडित परिवारको आवासका लागि पनि आफूहरूले छलफल गरिरहेको नगरपालिकाकी कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले जानकारी दिइन् । 'अहिले हामीले उहाँलाई तत्कालका लागि राहत दिएका छौं,' उनले भनिन्, 'आवासका लागि हामी छलफल गर्दैछौं ।'

अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समुदायका स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतले तोडफोड र लुटपाट गरेका थिए ।

यस घटनामा १३ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता भएर वडाध्यक्ष रामकिशोर यादवसहित गणेश र कैलाश पक्राउ परिसकेका छन् । अन्यको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully