वीरगन्ज महानगरका वडा नम्बर ९, १०, ११, १३ र २४ का टोलहरूमा बाढी पसेर जनजीवन प्रभावित भएको छ ।
पर्सा — अविरल वर्षापछि वीरगन्जमा सिर्सिया र तिलावे नदीको जनस्तर बढ्दा वीरगन्ज महानगरपालिकाका विभिन्न बस्तीहरू डुबानमा परेका छन् ।
विशेषगरी महानगरका वडा नम्बर ९, १०, ११, १३ र २४ का टोलहरूमा बाढी पसेर जनजीवन प्रभावित भएको छ । रानिघाट, रामगढवा, राधेमाई, मुर्ली,अशोक वाटिका क्षेत्र बढी प्रभावित छन् ।
कृषि औजार अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र परिसर पनि डुबानमा परेका छन् । घर–घरमा पानी पस्दा बस्तीहरू जलमग्न बनेका छन् । खेत पनि डुबेका छन् ।
बाढीको चपेटामा परेका बस्तीहरूको अनुगमनमा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह आफै पुगेका छन् । मेयर सिंहले डुबानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उद्धार र राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
