सिरहामा दलितका घरमा तोडफोड, भत्किएकै घरमा जाग्राम बसेर रात काटिरहेछन् पीडित

दलितको उठीबास लगाउने योजनामा संलग्न भएको आरोपमा कांग्रेसबाट निर्वाचित कल्याणपुर–८ का वडाध्यक्ष रामकिशोर यादवसहित स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी दर्ता भएको सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए ।

आश्विन १९, २०८२

विनय आजाद

Dalit houses vandalized in Siraha, the victims are spending the night lying awake in the ruined houses

What you should know

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका–८ अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समुदायका पाँच पासवान परिवारलाई गत शुक्रबार दुर्व्यवहार गर्दै उनीहरूको घरमा तोडफोड र लुटपाट गरिएको छ । आक्रमणबाट उनीहरूका फुसका घर बस्न लायकसमेत रहेका छैनन् ।

अचानक आएको करिब ५० जनाको समूहले स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा भएका अन्नपातसमेत नष्ट गरिदिए भने गरगहना, नगदलगायत लुटेर लगे । घटनापछि प्रहरीले शनिबार १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित कल्याणपुर–८ का वडाध्यक्ष रामकिशोर यादवसहित स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए ।

जसमध्ये वडाध्यक्ष यादवसहित गणेश र कैलाशलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी गर्दैछ । उनीहरूलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शर्माले बताए । अहिले एउटै शीर्षकमा १३ जनाविरुद्ध मात्रै जाहेरी दर्ता भए पनि अनुसन्धानका क्रममा मुद्दा र व्यक्ति बढ्न सक्ने उनले बताए ।Dalit houses vandalized in Siraha, the victims are spending the night lying awake in the ruined houses

‘घटनाको अनुसन्धानका लागि अहिले खुलेका व्यक्तिहरूमाथि जाहेरी दर्ता गरेका हौं,’ शर्माले कान्तिपुरसित भने, ‘यसको सूक्ष्म अनुसन्धान हामीले गरिरहेका छौं, त्यसक्रममा मुद्दा र व्यक्तिको संख्या बढ्न सक्छ ।’

यसअघि गत असोज १ गते विश्वकर्मा पूजाका दिन गाउँकै गुद्री बजारमा आर्केस्ट्रा ल्याइएको थियो । जसमा पासवान टोलका युवाहरूसँग प्रभास समूहको विवाद परेको थियो । विवादकै क्रममा उठीबास लगाउने धम्की दिएपछि दलित समुदायले प्रहरीमा उजुरी दिएका थिए ।

उनीहरूले दलित भएर ठूलो बन्न खोजेको भन्दै यहाँबाट भगाइदिने धम्की दिएपछि इलाका प्रहरी कार्यालय, मिर्चैयामा असोज ३ गते उजुरी दिएको पीडित राजकुमार पासवानले बताए । तर, पटक–पटक समय लिएर पनि छलफलमा उपस्थित नभएका उनीहरूले दलित समुदायको घरमा आक्रमण गर्दै उठीबास लगाइदिएका हुन् ।

यसमा वडाध्यक्ष यादवले उनीहरूलाई उक्साउने काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । असोज ५ मा वडाध्यक्ष यादवले कल्याणपुर नगरपालिकालाई दलित समुदाय बस्दै आएको जग्गा सार्वजनिक भएको र उक्त जग्गा खाली गराइदिन लेखेको पत्र पनि प्रहरीले प्राप्त गरेको छ ।

तर, दलित समुदाय सुकुम्बासी भएका कारण पत्र कार्यान्वयन नगरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बेवास्ता गरेपछि वडाध्यक्ष यादवले दलितको घर तोडफोड गर्ने विपक्षीको योजनामा आन्तरिक रूपमा सहयोगी भूमिका खेलेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

पीडित परिवारको कानुनी उपचारका लागि राज्यका निकायले तदारुकता देखाए पनि उनीहरूको अहिलेको दैनिकी भने कष्टकर बितिरहेको छ । शनिबार पीडित परिवारलाई भेट्न पुगेका सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नगरपालिकाको टोलीलगायतले पीडितलाई तत्कालका लागि खाद्यान्न सामग्री र त्रिपाल उपलब्ध गराएका थिए ।

तर, यसले सामान्य राहत दिए पनि पीडितहरू भत्किएकै घरमा छानोमाथि त्रिपाल राखेर रात काट्न बाध्य छन् । ‘न बस्ने ठाउँ छ, न त पकाउने ठाउँ,’ पीडित सञ्जुदेवी पासवानले भनिन्, ‘साना साना बालबच्चा छन्, कतिखेर घरमा के आइदिने हो ठेगान छैन, रातमा एक जना जागा नै बस्छौं ।’

आफूहरूलाई दीर्घकालीन समाधानको आवश्यकता रहेको पीडित बिन्दे पासवानले बताए । ‘हामी गरिब मान्छे हौं, आफैंले घर बनाउन सक्ने सामर्थ्य छैन,’ उनले कान्तिपुरसित भने, ‘यस्तो घरमा धेरै दिन बस्न निकै गाह्रो छ, हामीलाई दीर्घकालीन समाधानको आवश्यकता छ ।’

घटनाबारे बुझ्न आइतबार घटनास्थलमा आएका जिल्लाका दलितका अगुवाहरूले यसको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सामाजिक अभियन्ता मनोजकुमार पासवानले राज्य र राज्यका निकायकै असक्षमताका कारण दलितमाथि दमनका घटना नरोकिएको भन्दै यस घटनामा पनि कुनै चलखेल भए आफूहरू सशक्त संघर्षमा उत्रिने चेतावनी दिए ।

‘यस्ता घटना पटक–पटक हुन्छन्, तर दोषीलाई कारबाही गर्नुको साटो राज्यका निकाय उनीहरूकै प्रभावमा पर्छन्, त्यसैले निरन्तर यस्ता घटना भइरहेका छन्,’ उनले भने, ‘यो घटनामा पनि कुनै किसिमको चलखेल भयो भने हामी सशक्त प्रतिवाद गर्छौं, संघर्षमा उत्रिन्छौं ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully