शनिबारदेखिको वर्षाको कारण वीरगन्ज महानगरको अधिकांश वडामा पानी जम्मा भएर डुबानको समस्या देखिएको हो ।
What you should know
पर्सा — निरन्तरको वर्षाको कारण वीरगन्ज महानगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । शनिबारदेखिको वर्षाको कारण वीरगन्ज महानगरको अधिकांश वडामा पानी जम्मा भएर डुबानको समस्या देखिएको हो ।
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको बताए । उनले ठूलो वर्षाको कारण पानीको निकासको समस्या देखिए पनि डुबानकै कारण ठूलो धनजनको क्षति नभएको उनले बताए ।
उनले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका बस्तीमा भने उच्च सतर्कता अपनाइएको बताए । सिर्सिया नदी आसपासमा रहेका बस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको उनले बताए । प्रमुख सिंहले वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको बताए । टोल–टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्न खुला रुपमा राखिएको उनले बताए ।
प्रमुख सिंहले केही समयअघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठूलो प्रकृतिको क्षति हुन नपाएको बताए । स्थानीय प्रशासनले पनि आवश्यक सतर्कता अपनाउन थालेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगन्जसहित जिल्लाभरि आवश्यक सतर्कता र सावधानी अपनाइएको बताए। सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन वटै सुरक्षा निकाय उद्धारका लागि तयारी अवस्थामा जुटेको उनले बताए ।
भेडाहा खोलाको कारणले विगतमा वडा नम्बर ३१ र ३०मा क्षति पुर्याउने गर्थ्यो । वीरगन्ज महानगर ३१ नम्बरका वडाध्यक्ष जितेन्द्रप्रसाद यादवले डुबानको कारण वडामा त्यत्ति धेरै क्षति हुन नपाएको बताए । भेडाहा खोलामा आएको बाढीले बालुवाको बोरा राखेर लगाइएको बाँधलाई केही क्षति पुर्याएको उनले बताए। हालसम्म ३१ नम्बर वडामा मानवीय क्षति र जग्गा कटान नभएको उनले बताए।
वेल्वा गाउँको उत्तरतर्फ रहेको छठघाट र वेल्वाको पश्चिमपुलतर्फ बाँध पनि आधाजसो क्षतिग्रस्त भएको छ । वीरगन्ज महानगर वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुलीले तिलावेपुलको पानी वडा नम्बर १७ तर्फ आउन लागेको बताए । अलौंको कोनिया टोल डुबानमा पर्न सक्ने उच्च जोखिममा रहेको पनि उनले बताए। उक्त टोलमा करिब एक सय घरधुरी रहेका छन् । जेसीबी एक्स्काभेटर लगाएर पानी कटाउने काम भइरहेको उनले बताए। डुबान भई हालेमा कोनिया टोलका सर्वसाधारणलाई धर्मशालामा राख्ने व्यवस्था मिलाइएको उनले बताए। एकीकृत जाँच चौकीको पछाडि भागमा रहेका केही फुसका घर भने प्रभावित भएको उनले बताए । उनले तिलावे पुलको पानी अलौंतर्फ आएको खण्डमा भने थप जोखिम हुने सम्भावना पनि कायमै रहेको बताए।
वडा नम्बर ११ का वडाध्यक्ष अजयकुमार बरैले लगातार वर्षाको कारण श्रीपुरको नयाँबस्तीमा समस्या भएको बताए । डुबानको कारणले कृषि सामग्री लिमिटेडको पछाडि बसोबास गर्ने दलित बस्तीका एक सय ५० बढी स्थानीयलाई श्रीपुरको धर्मशालामा राखिएको उनले बताए ।
वडा नम्बर २४ का वडाध्यक्ष विजयप्रसाद कुर्मीले सवैठवादेखि ठाकुरराम क्याम्पससम्मका सिर्सिया नदीको किनाराको बस्ती डुबानको उच्च जोखिममा रहेको बताए । ब्रहमटोल, मनमोहन नगर,ज्योति कोलनी,बज्रङटोल लगायतमा डुबानको समस्या देखिएको उनले बताए । वडामा डुबानबाट भएका प्रभावितलाई उद्धार गरेर कुर्मी सेवा सदन र रामजानकी धर्मशालामा राखिएको उनले बताए ।
वडा नं २६ का वडाध्यक्ष शम्भू मिश्रले उचित निकास नहुँदा पानी जम्ने समस्या रहेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वीरगन्जको सिर्सिया नदी लगायतका नदीले खतराको तह पार गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीनवटै सुरक्षा निकायले उद्धारमा परिचालन गर्ने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतबारको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालमा रहेको डुङ्गा सहितको उपकरण एवं जनशक्ति तथा नेपाल प्रहरी, वीरगन्ज महानगरपालिका तथा अन्य स्थानीय तहहरुका नगर प्रहरीको सहयोगमा तत्काल उद्धारको काम गरी सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिसाउने निर्णय गरेको छ ।
बैठकले भीषण वर्षाका कारण डुबानमा परी आफ्नो स्थायी बसोबास छोडी अस्थायी रुपमा विभिन्न विद्यालय, धर्मशाला लगायतका स्थानमा बसिरहेका नागरिकलाई तत्कालै खाना, पानी समेतको प्रबन्ध मिलाउने निर्णय गरेको छ ।
गैरखाद्य सामग्री मानवीय सहायतास्वरूप उपलब्ध गराउनु पर्ने भएकोले सोका लागि सहायता उपलब्ध गराउन सबै स्थानीय तह, उद्योग वाणिज्य संघ, रेडकस, गैरसरकारी संस्था महासंघ समेतका गैरसरकारी संघसंस्था, विकास साझेदार संस्था युनिसेफ, विश्व स्वास्थ्य संगठन समेतका संघ संस्था एवं निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न निकायबाट प्राप्त सहायतालाई विपदबाट पीडित तथा प्रभावित व्यक्ति घर परिवारको आवश्यकताको आधारमा वर्गीकरण गरी स्थानीय तहबाट एकद्वार प्रणालीमार्फत वितरण गर्ने, प्राप्त सहयोगको संकलन गरेर स्थानीय विपद् जोखिम तथा न्यूनीकरण समितिको निर्णयसहित माग गर्ने हाललाई वीरगन्ज महानगरपालिका क्षेत्रभित्रको हकमा वीरगन्ज महानगरपालिकामार्फत र अन्य स्थानीय तहको हकमा सम्बन्धित स्थानीय तहबाट एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको छ । विद्युत्, खानेपानी, स्वास्थ्य, टेलिकमलगायतका अत्यावश्यक सेवा उपलब्ध गराउन सम्बन्धित निकायका जनशक्ति आवश्यक सवारी साधन र अन्य लजिष्टिकसहित फिल्डस्तरमा खटिने, तत्कालै सेवा उपलब्ध गराउने पनि निर्णय भएको छ ।
यता सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले वीरगन्ज महानगर-५ स्थित वीरगन्ज कारागारमा जमेको पानीलाई निकासको व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले मोटर लगाएर जमेको पानीलाई हटाएको हो । सशस्त्र प्रहरी उपरीक्षक पुरन भट्टले वीरगन्ज महानगर–१६ भुटनदेवी नजिकै बस्ने दीपक श्रीवास्तवको नयाँ घर वरपरबाट चार जनाको परिवारलाई सकुशल उद्धार गरेको बताए । वडा नम्बर ११ स्थित विद्यापति नगर बस्ने ७ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।
शनिबार पोखरिया नगरपालिकामा खटिएको उद्वारक टोलीले पोखरिया नगरपालिका–२ लमरियास्थित डुबानमा परेका २० परिवारका सदस्यलाई सकुशल उद्धार गरेर आफन्तको घरमा स्थानान्तरण गरेको छ । वीरगन्ज महानगर–२४ रामगढवास्थित वीरगन्ज गौशाला डुबानमा परेपछि एक सय ३२ वटा गाईको उद्धार गरेको छ । त विन्दवासिनी गाउँपालिका–२ गर्दौलस्थित वीरगन्ज–पोखरिया सडक खण्डमा रूख ढलेर बाटो अवरूद्ध भएको सडक पनि खुलाएको छ ।
