कल्याणपुर नगरपालिका–८ अरङ गाउँका दलित समुदायका पाँच परिवारको घरमा शुक्रबार दिउँसो तोडफोड र लुटपाट भएको हो ।
What you should know
सिरहा — सिरहामा प्रहरीकै अगाडि दलितको घरमा तोडफोड र लुटपाट भएको छ । कल्याणपुर नगरपालिका–८ अरङ गाउँका दलित समुदायका पाँच परिवारको घरमा शुक्रबार दिउँसो तोडफोड र लुटपाट भएको हो ।
अरङस्थित ठूलो पोखरीको उत्तरपट्टिको सार्वजनिक जग्गामा बसोबास गर्दै आएका राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानलाई दुर्व्यवहार गरी उनीहरूको घरमा स्थानीयले नै आक्रमण गरेका हुन् ।
राजपुत समुदायका स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइनलगायत करिब २५/३० जनाको समूहले दलित परिवारलाई दुर्व्यवहार गर्दै घरमा तोडफोड र लुटपाट गरेको पीडित अशोक पासवानले बताए ।
अशोकका अनुसार, उनीहरूले पाँचै जनाको फुसका घर पूर्ण रुपमा भत्काएका छन् भने घर छेउछाउमा भएका बोटबिरुवा पनि भाँचिदिएका छन् । यस्तै, घरमा भएका खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहनासहित नगद पनि लुटेर लगेको उनको आरोप छ ।
यसअघि गत असोज १ गते विश्वकर्मा पूजाको दिन गाउँकै गुद्री बजारमा आर्केस्ट्रा ल्याइएको थियो । जसमा पासवान टोलका युवाहरूसँग प्रभास समूहको विवाद परेको थियो । विवादकै क्रममा उठिबास लगाउने धम्की दिएपछि दलित समुदायका स्थानीयहरूले प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय, मिर्चैयामा असोज ३ गते उजुरी दिएकोमा अर्को पक्ष पटकपटक समय लिएर पनि उपस्थित नभएपछि पछिल्लोपल्ट असोज २१ का लागि छलफल तोकिएको थियो । तर, छलफल हुन नपाउँदै उनीहरूले दलित समुदायको घरमा आक्रमण गरेका हुन् ।
पीडित राजकुमारका अनुसार, उजुरी दिएदेखि नै उनीहरूले दलित भएर ठूलो बन्न खोजेको भन्दै पटकपटक धम्की दिने गरेका थिए । प्रहरीमा छलफल बस्न नचाहेका उनीहरू बाहिरका मानिससहित भेला भएर शुक्रबार दिउँसो २ बजे दलित परिवारलाई गाउँमै पञ्चायत गरी उजुरी फिर्ता लिन बोलाएका थिए ।
तर, पीडित दलित परिवारहरूले गाउँमा छलफल गर्न इन्कार गर्दै शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, कल्याणपुरमा गुहारे । दलित बस्तीमा प्रहरी पुग्यो पनि तर प्रहरीकै उपस्थितिमा उनीहरूले दलितको घरमा तोडफोड र लुटपाट मच्चाएका थिए ।
‘हामीले प्रहरीमा उजुरी गरेको कुरा उनीलाई मन परेको थिएन, ठूलो जातको दम्भ देखाएर हामीलाई पटकपटक धम्क्याए,’ राजकुमारले कान्तिपुरसित भने, ‘तर शुक्रबार हामीमाथि दुर्व्यवहार भयो, घर नै भत्काइयो, लुटपाट गरियो, उनीहरूले विवाद गर्न सक्छन् भन्ने लागेर पहिल्यै प्रहरी बोलाएका थियौं, तर प्रहरी रमिते बनेर बस्यो ।’
पोखरी डिलको सार्वजनिक जग्गामा करिब ५० वर्षदेखि बसोबास गर्दै आएका यी दलित परिवार सुकुम्बासी हुन् । आर्थिक रुपले विपन्न उनीहरूलाई यसअघि पनि उनीहरूले यहाँबाट सरेर अन्यत्र जान धम्की दिँदै आएका थिए ।
‘हामी यहाँ बसेको उनीहरूलाई मन परेको छैन, हामीलाई सानो जात भनेर हेप्छन्, ठूला जातबालाहरुको अपमान भोगेर कहिलेकाहीँ त निराश हुन्छौं, तर मनलाई सम्हाल्छौं,’ पीडित सोभित पासवान भन्छन्, ‘सरकार, पुलिस, प्रशासन पनि हामीलाई मान्छे गन्दैन ।’
प्रहरीकै अगाडि दलितको घर तोडफोड र लुटपाट भइरहँदा प्रहरीले रोक्ने प्रयास पनि नगरेको आरोपका विषयमा जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले यस्तो घटना हुने कल्पना नभएको र प्रहरी सानो संख्यामा भएको मौकामा उनीहरूले जबरजस्ती आक्रमण गरेको बताए ।
घटनास्थलमा सानो संख्यामा रहेका प्रहरीले मगाएको थप सुरक्षाकर्मी त्यहाँ पुग्नुअघि नै उनीहरू घरमा तोडफोड गरिसकेर भागिसकेको उनको भनाइ छ । यो घटनामा प्रहरीले शुक्रबारै स्थानीय गणेश कामतीलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजीकार्य गरिरहेको छ ।
०००
वडाध्यक्ष प्रहरीको नियन्त्रणमा
सिरहाको कल्याणपुर नगरपालिका-८ अरङमा दलितको घरमा तोडफोड र लुटपाट भएको घटनामा वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष रामकिशोर यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
वडाध्यक्ष यादवलाई इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा राखिएको छ । घटनामा उनले भूमिका खेलेको र यसका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख अनन्तराम शर्माले बताए ।
