चट्याङ लागेर हथियाही गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ
रौतहट — रौतहटको कटहरिया नगरपालिका-२ स्थित हथियाही गाउँमा शनिबार साँझ चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ । लगातारको वर्षासँगै हावाहुरी र चट्याङ लागेर किशोरको मृत्यु भएको हो ।
हथियाही गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी राजु कार्कीले जानकारी दिए ।
साँझसम्म जिल्लाभर लगातार भारी वर्षासँगै मेघ गर्जिइरहेको छ । बाटोमा हिँडिरहेका बेला चट्याङ लागेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
यसैबीच लगातारको वर्षा पछि चलेको हावाहुरीले रौतहटको चन्द्रनिगाहपुर–बाग्मती खण्डमा रुख ढलेर शनिबार साँझ आधा घण्टा अवरुद्ध बनेको यातायात सञ्चालनमा आएको छ । सुरक्षाकर्मीले रुख पन्छाएपछि गाडी चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
