जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको आदेशमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठाको चार किल्लाभित्रको क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।
जनकपुर — दसैंमा दुर्गाको मुर्ति सेलाउने क्रममा धनुषाको देवपुरा–रूपैठामा दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले जनकपुरको तनावग्रस्त क्षेत्रमा शुक्रबार साँझदेखि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको आदेशमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठाको चार किल्लाभित्रको क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा लगाइएको हो ।
‘जनकपुरको पूर्वतर्फ लोहना जाने बाटो, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तरतर्फ सिक्स लेन र दक्षिणतर्फ गंगुली पुलसम्म निषेधाज्ञा लगाइएको छ,’ सीडीओ आचार्यको आदेशमा भनिएको छ, ‘अर्को आदेश जारी नभएसम्म यो अवधिमा भेला, अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभा, आगजानी र तोडफोड कार्य गरे कानुनबमोजिम कारबाही हुनेछ ।’
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार देवपुरा–रुपैठानजिक रहेको तेलिया पोखरीमा मुर्ति सेलाउन जाने क्रममा स्थिति तनावग्रस्त बनेको थियो । ‘सुरुमा स्थिति सामान्य थियो । मुस्लिम समुदायमाथि ढुंगा प्रहारसँगै घरमा तोडफोड हुन थाल्यो । हामी तितरवितर भयौं,’ घटनास्थलमा खटिएका धनुषाका प्रहरीका एक अधिकारीले भने, ‘अहिले स्थितिलाई नियन्त्रणमा लिएका छौं । मूर्ति तेलिया पोखरीमा सेलाइएको छ ।’
