बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

बसको ठक्करले पैदलयात्रु चुल्हाइ चौधरीको मृत्यु भएको छ भने बसमा सवार २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

आश्विन १७, २०८२

सन्तोष सिंह

Pedestrian dies after being hit by a bus

महोतरी — महोतरीको खयरमारामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । घारीबथानबाट खैरमारा हुँदै काठमाडौँ जान लागेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा २० जनाभन्दा बढी बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोे छ । दुर्घटना लगत्तै स्थानीयले घाइतेहरुलाई उद्धार गरी अस्पतालतर्फ पठाएकोले घइतेहरुको अवस्था र संख्या यकिन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीले बताए ।

खैयरमारा स्कुल अगाडि पैदल यात्रु चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटना भएको जोशीले बताए । बसकोको ठक्करबाट चौधरीको दुर्घटना स्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक जोशीले बताए ।

घाइतेहरुलाई तत्कालै स्थानीयले उद्धार गरी बर्दिबास स्थित शुभस्वस्तीक अस्पताल पुर्‍याइएको छ । बसमा सवार सबै यात्रु घाइते भएको र विस्तृत जानकारी संकलन भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक बिकाश बलमे बताए ।

चिया खाएर बाटो निस्किएका स्थानीय चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर नजिकै रहेको नारिवलको बोटमा ठोकिएको प्रत्यक्षदर्शी विनय यादवले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully