भदौ १५ मा शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाए पनि रिपोर्ट भने अझै आएको छैन ।
What you should know
राजविराज — शंकास्पद मृत्यु भएकी सप्तरीको महादेवा गाउँपालिका–१ सोनरा टोलकी २१ वर्षीया दीपाकुमारी यादवको पोस्टमार्टम रिपोर्ट एक महिनामा पनि आएको छैन ।
दुई महिनाअघि विवाह भएकी दीपालाई भदौ १४ को दिउँसो गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर, अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका थिए ।
दीपाको शरीरमा चोटपटक र घाँटीमा नीलडाम देखिएपछि प्रहरीले सोही दिन पति दीपककुमार यादव र ससुरा पर्शुराम यादवलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो । भोलिपल्ट साँझ शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाए पनि रिपोर्ट भने अझै आएको छैन ।
घटनापछि दीपाका माइती पक्षले दाइजो नदिँदा पति र ससुरा मिलेर दीपाको हत्या गरेको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए । थप ५० हजार रुपैयाँ दाइजो माग गर्दै घटना भएको एक महिनाअघिदेखि नै दीपालाई यातना दिँदै आएको उनका ठूलोबुवा भगवतीप्रसाद यादवको भनाइ छ ।
‘विवाहमा ११ लाख रुपैयाँ दाइजो दिएर कूल २५ लाख रुपैयाँ खर्च भइसकेकाले थप रकम तत्कालै दिन सकिएन,’ उनले भने, ‘भाइ (दीपाका बुवा) संजीवले विदेशमा दुःख गरेर कमाएको सबै पैसा विवाहमा नै खर्च भइसकेको थियो ।’ २०८२ असार ४ मा विवाह भएकी दीपा संजीवकी एक्ली छोरी थिइन् ।
एसपी गौतमकुमार केसीले भिसेरा परीक्षणका लागि पठाइएकाले रिपोर्ट आउन अझै समय लाग्न सक्ने बताए । ‘अनुसन्धान भइरहेको छ भने आरोपीले कन्फेसनसमेत गरिसकेका छन्,’ उनले भने । प्रहरी हिरासतमा रहेका दीपकले मुखमुखै लाग्दा रिस उठेर उनकै सलले घाँटीमा कस्दा दीपाको मृत्यु भएको स्वीकार गरेका छन् । तर, कुन कुरा नमानेको विषय भने दीपकले खुलाउन चाहेका छैनन् ।
दीपकले घटना लुकाउन मृत्यु भइसकेकी दीपालाई दिउँसो अस्पताल ल्याएका थिए । तर, त्यही बेला दीपाका माइती पक्षका आफन्त अस्पताल पुगेपछि घटना बाहिरिएको थियो ।
यसै घटनासँग सम्बन्धित अन्य समाचार
विवाहको दुई महिनामै दीपाको शंकास्पद मृत्यु, दाइजो नदिँदा हत्या गरेको माइती पक्षको दाबी
