‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाट्सएप ग्रुप बनाएका युवाहरूको समूहले गोल्डेनको समूसँग यसअघि भएको झगडाको रिसिबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरेको प्रहरीको दाबी
What you should know
काठमाडौँ — वीरगन्जको दसैं मेलामा अष्टमीको राति भएको एक युवकको हत्या ‘खुनी दरिन्दे समूह (ग्याङ्ग)’ को संलग्नता रहेको पर्सा प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले 'खुनी दरिन्दे समूह’ को नामबाट ह्वाट्सएप ग्रुप बनाएका युवाहरूले २० वर्षीय गोल्डेन भन्ने शिवमकुमार साह कानुको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए।
वीरगन्जमा लागेको दसैं मेलामा मंगलबार राति साढे ११ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा युवाहरूको दुई समूहबीच कुटपिट हुँदा बारा परवानिपुर गाउँपालिका वडा नम्बर ९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेनको मृत्यु भएको थियो ।
प्रहरी उपरीक्षक पाठकले ‘खुनी दरिन्दे समूह’ को नामबाट ह्वाट्सएप ग्रुप बनाएका युवाहरूको समूहले गोल्डेनको समूसँग यसअघि भएको झगडाको रिसिबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरेको बताए ।
दसैं मेला घुम्न आएका बेला गोल्डेनलाई ‘खुनी दरिन्दे समूह’ ले हातमुक्का र बाँसको भाटा समेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको पाठकले बताए ।
गोल्डेनको हत्यामा संलग्न मुख्य आरोपितसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हत्याका मुख्य आरोपी वीरगन्ज महानगरपालिका-२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
तीमध्ये ३ जनालााई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो भने बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाँउमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
