पुनिताले अस्पतालमा नवजात शिशुलाई जन्म दिएको कुरा उनका एक छिमेकीले सामाजिक सन्जालमा देखेपछि उनका परिवारका सदस्यलाई खबर गरेका थिए ।
पर्सा — सामाजिक सञ्जालको सहयोगमा पर्सा गढी नयाँ–५ झिंग्नीकी पुनिता देवी राम र उनकी नवजात छोरीको पारिवारिक पुनर्मिलन भएको छ ।
मंगलबार साँझ वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरीलाई जन्म दिएकी पुनिता लामो समयदेखि पारिवारिक सम्पर्कविहीन थिइन् । मानसिक अवस्था कमजोर भए पछि उनी घर छाडेर हिँडेकी थिइन् ।
उनका पति करण राम हाल पहाडमा ट्रयाक्टर चालकको रूपमा कार्यरत छन् । पुनिता हराएपछि परिवारले निकै खोज तलाश गरे पनि फेला पार्न सकेका थिएनन् ।
पुनिताले अस्पतालमा नवजात शिशुलाई जन्म दिएको कुरा उनका एक छिमेकीले सामाजिक सन्जालमा देखेपछि उनका परिवारका सदस्यलाई खबर गरेका थिए ।
पुनिताकी सासू पानादेवी चमार र ससुरा शम्भु राम बुधबार बिहान नारायणी अस्पताल आइपुगेका थिए । उनीहरुले बुहारी र नातिनीलाई बुधबारै साथमा घर लगेका छन् ।
पुनिताको शनिबार राति वीरगन्ज-१४ बहुअरीबाट मानव सेवा आश्रम वीरगन्जका अभिभावक प्रकाश थारू नेतृत्वको टोलीले सडकबाट अलपत्र अवस्थामा उद्धार गरेको थियो ।
