चुरियामाईमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको यात्रुवाहक बसको अचानक ब्रेक फेल भई पछाडि रहेका दुइटा मोटरसाइकलसँग ठोक्किएको हो

आश्विन १५, २०८२

लक्ष्मी साह

2 people died when a bus hit a motorcycle in Churiamai

बारा — बाराको पथलैया-हेटौंडा सडकखण्डको चुरियामाई नजिकको उकालोमा बसको ब्रेक फेल भई पछाडि सरेर मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । त्यस्तै तीन नाबालकसहित ४ जनालाई उपचारका लागि हेटौंडा लगिएको छ । 

जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको यात्रुवाहक बसको अचानक ब्रेक फेल भई पछाडि रहेका दुइटा मोटरसाइकलसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । बस ब्याक हुँदा सोही दिशातर्फ जाँदै गरेको ना १२ प ३३६० र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ना १२ प ३३६० नम्बरको मोटरसाइकल चालक २५ वर्षीय मकेश्वर पटेल र मधेस प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकलमा पछाडि सवार २६ वर्षीया कविता देवी रहेका छन् । उपचारका लागि कलैया लैजाँदै गर्दा बाटैमा दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक कविताका श्रीमान् कञ्चनकुमार पटेल घाइते भएका छन् । 

बस चालक सर्लाही लालबन्दी नगरपालिका-३ का ४७ वर्षीय विश्वनाथ चौधरी प्रहरी नियन्त्रणमा छन् । 

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully