किराना सामान, सुर्ती र कपडा ट्रकमा लोड गरेर मौलापुर जाँदै गरेका बेला जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले ट्रकसहित सामान नियन्त्रणमा लिएको हो ।
रौतहट — रौतहट प्रहरीले भन्सार छलेर ल्याएको सामान र ट्रक बरामद गरेको छ । साथै प्रहरीले ट्रक चालकलाई पनि पक्राउ गरेको छ ।
बौधिमाई नगरपालिका– ५ हनुमानमन्दिर नजिक भारतबाट भन्सार छली गरेको ल्याइएको मालसमान बोकेको ना६ख ५६२ नम्बरको ट्रकसहित धादिङको गल्छी गाउँपालिका–६ घर भएका चालक विनय लामालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए ।
‘दसैंको मौका छोपेर भन्सार छलेका समान ट्रकमै राखेर पास गराउने उद्देश्य रहेछ,’उनले भने,‘बरामद समानको मालिकबारे सोधपुछ भइरहेको छ । हामी समानलाई आवश्यक अनुसन्धानका लागि भन्सारमा बुझाउँछौँ ।’
भारतीय बजारबाट राजस्व छलेर नेपालको नरकटिया र रामपुर खाप नाका हुँदै कोपवा गाउँमा भण्डारण गरी किराना सामान, सुर्ती र कपडा ट्रकमा लोड गरेर मौलापुर जाँदै गरेका बेला जिल्ला प्रहरीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएर चेक गरेको थियो ।
उक्त समान भन्सार छली गरेको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । चालक लामाले उक्त समानको भन्सार राजस्वबारे आफूलाई केही थाहा नभएको प्रहरीसमक्ष बताएका छन् । प्रहरीले बरामद गरेको सामान र ट्रकको मूल्य ४७ लाख कायम गरेको जनाएको छ ।
