हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्दा, अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दामा सजाय पाएकाहरु फर्कने सम्भावना न्यून रहेको प्रशासनले जनाएको छ ।
रौतहट — जेन–जी आन्दोलनका बेला मौका छोपेर गौर कारागारबाट भागेका कैदीमध्ये ठूला अपराधमा संलग्नहरु अझै फरार छन् ।
उनीहरु सहजै सम्पर्कमा आउँछन् भन्नेमा प्रशासन ढुक्क छैन । उनीहरुलाई कारागार फर्कन, कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले निरन्तर आग्रह गरिरहेको छ ।
जेन–जी आन्दोलन तोडफोड, आगजनी र लुटपाटमा परिणत भएपछि गौर कारागारबाट २९१ मध्ये २७ जना मात्र भित्रै बसेका थिए । बाँकी सबै कारागारको ताला फोडेर बाहिर निस्के । तीमध्ये १७ जना कैदीलाई भारतीय क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरी गौर कारागार पठाएको थियो । सबैभन्दा बढी तनाव गम्भीर अपराध (हत्या, हातहतियार खरखजना, डकैती, लागुऔषध, खोटा मुद्दा, अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दा) मा सजाय पाएकाहरु फरार भएको र उनीहरु आउने सम्भावना न्यून रहेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।
‘समान्य कसुरमा जेल परेका र सजाय सकिन लागेकाहरु धेरैजसो कारागार फर्किए,’ उनले भने, 'ठूला अपराध गरेकाहरु फर्केलान् जस्तो लागेन । उनीहरुलाई व्यापक खोजतलास गरेर ल्याउनुपर्ने अवस्था छ ।’
प्रशासनलाई सबैभन्दा बढी तनाव भारतीय कैदीबन्दीको छ । भदौ २४ गतेको आन्दोलनको आडमा गौर कारागारबाट १७ जना भारतीय कैदी फरार भएका थिए । तीमध्ये ५ जनालाई भारतीय सीमासुरक्षा बलले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो । अहिले पनि १२ जना फरार रहेको कारागार प्रमुख मनिष झाले जानकारी दिए । उनीहरु सबै भारत प्रवेश गरिसकेको प्रहरीको आशंका छ ।
सुरक्षाकर्मीको टोलीले ९१ जना कैदीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । अहिले कारागारमा महिला र पुरुष गरी १३५ जना कैदीबन्दी छन् । १५६ जना अझै फरार रहेको कारागार प्रमुख झाले बताए । भागेका कैदीबन्दीलाई असोज २० गतेभित्र कारागार फर्कन सूचित गरिएको छ । तोकेको समयमा नआए कानुनी कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
फरार कैदीबन्दीहरुलाई आश्रय दिने, लुकाउने वा सहयोग गर्ने व्यक्तिविरुद्ध पनि कानुनअनुसार कारबाही हुने जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए । ‘अहिले हामी सीमाक्षेत्रमा केन्द्रित छौं । नेपालबाट भागेर सीमापारि भारतमा प्रवेश गर्छन् भनेर निगरानी बढाएका छौं,’ उनले भने, ‘पर्वका बेला घर ठेगानामा आउन सक्ने भएकाले सबै संयन्त्र परिचालन गरेका छौं ।’
जेन–जी आन्दोलनका क्रममा मधेश प्रदेका ३ जिल्लाबाट ५० जना भारतीय कैदी कारागार भागेका थिए । महोत्तरीको जलेश्वर कारागारबाट भागेका ३९ भारतीय कैदीमध्ये ४ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । ३५ जना अझै फरार रहेको महोत्तरी कारागार प्रशासनले जनाएको छ । उनीहरु विभिन्न अपराधमा जेल सजाय पाएकाहरु हुन् । महोत्तरी कारागारमा ५७६ कैदीबन्दीहरु थिए । आन्दोलनको आडमा ५७५ जना फरार भए ।
सप्तरी कारागारबाट भागेकामध्ये ५ जना भारतीय छन् । तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकेको छ । ३ जना अझै फरार छन् । सप्तरी कारागारमा ३९८ कैदीमध्ये २०५ जना भागेका थिए ।
