औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले अनियमित रूपमा औषधिको कारोबार गर्ने १५ व्यक्ति/संस्था उपर मुद्दासमेत दर्ता गरेको छ ।
पर्सा — औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले गत आर्थिक वर्षमा १ सय ५६ औषधि पसल बन्द गरेको छ । दर्ता प्रक्रियामा नआएका र अन्य कैफियत देखिएका पसल बन्द गरिएको हो ।
गत आवमै कार्यालयले एक सय २२ औषधि पसललाई निलम्बनसमेत गरेको छ । कार्यालय प्रमुख शम्भु साहका अनुसार अनुगनम टोलीले मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लामा कारबाही गरेको हो ।
अनुगमनका क्रममा फार्मेसी निलम्बन गरिएका १ सय २२ मध्ये २ थोक बिक्रेता, आठ विभिन्न अस्पतालले सञ्चालन गरेका र १ सय १२ समुदायले चलाएका औषधि पसल रहेका थिए । अनुगमनपछि ७ अस्पतालका र ५ सामुदायिक गरी १२ औषधि पसल दर्ता हुन आएका छन् ।
गत आवभरि अनुगमन क्रममा ९२ वटा औषधि पसल दर्ता नभएको पाइएको थियो । १ सय ८३ मा व्यवसायी/फर्मासिस्ट अनुपस्थित रहेको तथा १ थोक, ७ अस्पतालका र १ सय २ गरी १ सय १० पसलबाट दर्ता नभएका औषधि बरामद भएका थिए ।
त्यसैगरी, ७६ औषधि पसलबाट लागु तथा मनोद्दीपक औषधिको रेकर्ड नराखिएको, ३३ पसलमा उचित तापक्रममा भ्याक्सिन सञ्चय नगरिएको, १३ पसलमा म्याद नाघेका औषधि सञ्चय गरिएको र ७ पसलमा ‘फिजिसियन सेम्पल’ औषधि बरामद भएको थियो ।
गत आवमा कार्यालयले ४ सय ५० फार्मेसी निरीक्षणको लक्ष्य राखेकामा लक्ष्यभन्दा ८ प्रतिशत बढी अर्थात् ४ सय ८६ फार्मेसी अर्थात् औषधि पसलको निरीक्षण गर्न सफलता मिलेको प्रमुख साहले बताए । तीमध्ये ४ सय ३१ एलोप्याथिक, २५ आयुर्वेदिक, २७ भेटेरिनरी, ३ होमियोप्याथिक औषधि पसलको निरीक्षण गरिएको थियो ।
कार्यालयले गत आवमा अनियमित रुपमा औषधिको कारोबार गर्ने १५ व्यक्ति/संस्था उपर मुद्दा दर्ता गरेको छ । कानुनविपरीत सञ्चालित ३५ औषधि पसलका बारेमा उजुरी परेपछि तीमध्ये १७ उजुरी फर्छ्यौट गरिएको साहले बताए ।
मधेशका सप्तरी र सिरहाबाहेक ६ जिल्ला तथा बागमतीका चितवन, मकवानपुर र सिन्धुली गरी ९ जिल्ला यस कार्यालयको कार्यक्षेत्र हो ।
