राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै असोज १७, १८ र १९ सम्म बागेश्वरी मन्दिर परिसरमा चल्ने सम्मेलनबारे जानकारी गराएको हो ।
राजविराज — सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरिरहेको बेला देव जातिआबद्ध संघसंस्थाले अन्तरजातीय विवाह सामाजिक विकृति रहेको भन्दै न्यूनीकरण गर्न सप्तरीमा अन्तर्राष्ट्रिय देव सम्मेलन गर्ने भएको छ ।
राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै असोज १७, १८ र १९ सम्म बागेश्वरी मन्दिर परिसरमा चल्ने सम्मेलनबारे जानकारी गराएको हो । देव जातिको संस्कृति र संस्कारको संरक्षण गर्न बढ्दो रहेको स्वजातीय सम्बन्ध विच्छेद, अन्तरजातीय विवाह, दाइजो, बहुविवाह, समगोत्री विवाह न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय देव सम्मेलन गर्न लागेको सम्मेलनका संयोजक इन्द्रनारायण देवले बताए ।
‘अन्तरजातीय विवाहले जातीय मौलिकतामा असर पार्छ,’ उनले भने, ‘अन्तरजातीय विवाह गर्न लागेकाको घरमा पुगेर हामी सामाजिक रुपले दबाब दिन्छौं, जातभन्दा माथि कानून होइन ।’ ती विषयमा प्रभावकारी रुपमा काम गर्न नेपाल भारतबाट सहभागी हुनेहरुसँग थप छलफल गरी निर्णय गर्ने संयोजक देवले बताए । ‘अहिलेसम्म हाम्रो पहिचान र इतिहास पनि स्थापित हुन सकेको छैन, हामी मिथिलाका आदिवासी हौं, अति अल्पसंख्यक भए पनि सरकारले आरक्षणको व्यवस्था गरेको छैन,’ उनले भने ।
सम्मेलनमा जातीय पहिचान र इतिहास निर्माण गर्न, स्वजातीय एकताबद्ध हुन, राति हुँदै आएको विवाह दिनमा गर्ने, श्राद्ध कर्ममा दुई दिन र सम्पीडनमा एक दिन मात्रै भोज गर्ने लगायतका विषयमा छलफल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बागेश्वरी र भवानी सेवा समिति राजविराज, विराट देव सेवा समिति विराटनगर तथा देव समाज विर्तामोडको आयोजनामा गर्न लागेको सम्मेलनमा चार सयभन्दा बढीको सहभागिता हुनेछ ।
