पर्सामा दुई समूहबीच झडप, गोली लागेर किशोर घाइते

अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले ती किशोरको देब्रे तिघ्रामा गोली लागेको र हालसम्म गोली निकाल्न नसकिएको बताए ।

आश्विन ९, २०८२

शंकर आचार्य

Clash between two groups in Parsa, teenager injured by bullet

पर्सा — पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार साँझ दुई समूहबीच झडपको क्रममा गोली चल्दा एक किशोर घाइते भएका छन् । घाइते हुनेमा छिपहरमाई–३ झलमहियाका १६ वर्षीय गोलु आलम धुनिया रहेका छन् । उनको तिघ्रामा गोली लागेको छ । 

आलमको हाल वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले ती किशोरको देब्रे तिघ्रामा गोली लागेको र हालसम्म गोली निकाल्न नसकिएको बताए । शल्यक्रिया गरी गोली निकाल्ने तयारी भइरहेको उनले बताए । किशोर खतरामुक्त रहेको पनि उनले बताए ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले वडा नं ३ र ५ का बासिन्दाबीच गाउँकै कुनै विषयलाई लिएर साँझ करिब सवा ७ बजेतिर झडप भएको र त्यस क्रममा गोली चलेको बताए । 

घटनाक्रम हेर्दा ती किशोरलाई नै लक्षित गरी गोली प्रहार गरिएको जस्तो नपाइएको उनले बताए । प्रहरीले अनुसन्धानका लागि २/३ जनालाई नियन्त्रणमा लिएको छ । ‘हामी इस्यु के हो भनि क्लियर भइसकेका छौं,’ एसपी पाठकले भने, ‘हामी सघन अनुसन्धान गरिरहेका छौं, छिट्टै परिणाम पनि आउँछ ।’

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully