मुख्यमन्त्री सिंहको पक्षमा एमाले र लोसपाका ३२ सांसद मात्र, विपक्षमा ७२ सांसद
जनकपुरधाम — सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार अल्पमतमा परेको छ । बुधबार कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको हो ।
मधेश सरकारलाई अहिले एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सात र मुख्यमन्त्री सतीशकुमार सिंह गरी ३२ सांसदको मात्र समर्थन छ । जनमत पार्टीले आफ्नै दलका मुख्यमन्त्री सिंहको राजीनामा माग्ने निर्णय गरिसकेको छ । मंगलबारको प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री सिंहबाहेक जनमतका सबै सांसद विपक्षी बेञ्चमा बसेका थिए ।
बुधबारको कांग्रेस संसदीय दलको निर्णयसँगै सिंह नेतृत्वको प्रदेश सरकारको विपक्षमा ७२ सांसद देखिएका छन् । कांग्रेसका २२, जसपा नेपालका १९, माओवादीका ९, एकीकृत समाजवादीका ७, जनमतका १२, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको एक/एक गरी ७२ सांसद विपक्षमा छन् । सरकार अल्पमतमा परेपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुनः सरकारको प्रक्रिया अगाडि बढ्ने भएको छ ।
कांग्रेसको संसदीय दलका नेता एवं प्रदेश सभापति कृष्णप्रसाद यादवले सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । ‘हामी दलीय राजनीतिमा छौं । जनमत नै संसद् बैठकमा प्रतिपक्षको बेञ्चमा बसेको छ,’ उनले भने, ‘संस्थाले व्यक्तिलाई छोडिसकेपछि हामी पनि संस्था अर्थात् जनमतसँगै रहने हो । त्यसकारण सरकारबाट समर्थन फिर्ता लिएका छौं ।’
यसअघि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ । तर मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार गरेका छन् । उनी विश्वासको मत लिने तयारीमा छन् । तर, कांग्रेसको बहिर्गमनसँगै मुख्यमन्त्री सिंहले विश्वासको मत पुर्याउन सक्ने अवस्था छैन । नयाँ सरकार बनाउन दौडधुप र दाबीहरू पुनः सुरु हुन थालेको छ । एमाले सरकारलाई जोगाउने दाउमा छ भने अर्को सत्ता साझेदार लोसपा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ ।
यता, संसद्को सबैभन्दा ठूलो दल कांग्रेस पनि सरकारको नेतृत्व गर्ने तयारीमा जुटेको छ । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको कांग्रेस संसदीय दलका नेता यादवले बताए । ‘अहिले त समय पनि बाँकी छ । अल्पमत सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीले विश्वासको मत लिन्छन् होला,’ उनले भने, ‘त्यसपछि मात्रै हामी नयाँ सरकारको प्रक्रियामा जान्छौं । यस पटक कांग्रेस आफैं नेतृत्व गर्छ ।’ प्रदेशसभाको दोस्रो ठूलो दल जसपा नेपालले पनि सरकार नेतृत्व गर्न तयार रहेको र परिस्थितिअनुसार अगाडि बढ्ने तयारीमा रहेको प्रमुख सचेतक रामआशिष यादवले बताए ।
