वीरगन्जमा पत्ता लागेन हैजाको स्रोत, फेरि बढ्यो संक्रमण

अस्पतालमा सुरुमा झाडापखाला लागेर भर्ना भई उपचार गरेर फर्किएकाहरू पुनः सोही समस्या लिएर आइरहेका छन् ।

आश्विन ७, २०८२

शंकर आचार्य

The source of cholera was not found in Birganj, the infection increased again

पर्सा — जेन-जी आन्दोलनताका नियन्त्रणमा आइसकेको हैजा संक्रमण बढ्न थालेपछि वीरगन्ज महानगरवासी त्रसित बनेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार, एक महिनामा पर्सा जिल्लामा हैजा संक्रमितको संख्या २ सय ३८ पुगेको छ । ती मध्ये २ सय २० वीरगन्ज महानगर क्षेत्रमा र १८ पोखरिया नगरपालिकामा भेटिएका हुन् । हाल पनि २ हैजा संक्रमित वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत छन् ।

एक महिनाको अवधिमा जिल्लामा झाडापखाला र हैजाका गरी १ हजार ४ सय ८४ बिरामी विभिन्न अस्पतालमा भर्ना भएका थिए । ती मध्ये १ हजार ४ सय ५० उपचारपछि घर फर्किसकेका छन् । ३४ अझै उपचाररत छन् ।

सुरुवाती दिनमा स्थानीय प्रशासनले हैजाबाट वीरगन्जमा मृत्यु नभएको दाबी गरेको थियो । त्यसैताका वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा क्रमशः एक महिला र पुरुषको हैजासँग मिल्दोजुल्दो सबै लक्षणको कारण मृत्यु भयो । प्रयोगशाला परीक्षणबिनै उनीहरुको अन्तिम संस्कार गरियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा हैजाको कारणले तीन जनाको मृत्यु भएको जानकारी प्रतिनिधिसभालाई गराएका थिए । तर वीरगन्जका कुनै पनि सरकारी निकायले हालसम्म  हैजाबाट एक जनाको पनि मृत्यु भएको आधिकारीक पुष्टि गरेका छैनन् ।

हैजाको स्रोत फेला परेन

हैजाको प्रकोप फैलिएसँगै यसको स्रोतबारे विभिन्न खाले अडकलबाजी हुन थाले । अधिकांशले खानेपानी संस्थानको पानी वा भर्खरै गाडिएका डिप बोरिङका पानीमा संक्रमण रहेको प्रारम्भिक अनुमान गरे । तर अनुमानविपरीत कुनै पनि निकायबाट गरिएको प्रयोगशाला परीक्षणले पानीमा हैजाको किटाणु फेला परेन ।

वीरगन्ज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने किटाणु भेटिएन । हैजा प्रभावित महानगरको वडा नं १०, ११ र १२ का सात स्थानका धाराबाट लिइएका सबै नमुनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको थियो । महानगरले हैजा प्रभावित वडा नं १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो  । तीमध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमुना संकलन गरेर परीक्षण गरिएकामा सबै सात नमुनामा झाडापखाला फैलाउने इकोली किटाणु फेला परेन ।  

महानगरको वडा नं १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालामा उक्त परीक्षण गरिएको थियो ।

एक महिनाअघि नै संघीय ढल निकास तथा व्यवस्थापन विभाग मातहतको जनकपुर प्रादेशिक कार्यालयले वीरगन्जका विभिन्न स्थानबाट संस्थानको पानीको नमुना लगेर आफ्नो प्रयोगशालामा परीक्षण गर्दा संस्थानको पानीमा हैजाको संक्रमण भेटिएन ।  

जेनजी आन्दोलनको दुई दिनअघि सोही विभागले विश्व स्वास्थ्य संगठन र युनिसेफका  विज्ञसहितको टोली ल्याएर वीरगन्जका विभिन्न स्थानका खानेपानीको प्रयोगशाला परीक्षण गर्दा पनि हैजाको जीवाणु कतैको पानीमा पनि भेटिएन ।

कहाँबाट आयो जीवाणु ?

हालसम्म वीरगन्ज महानगर क्षेत्रमा फैलिएको हैजाको प्रकोपको जिम्मेवार खानेपानी संस्थानको पानी वा भर्खर देखिएको सुक्खाको समयमा गाडिएका डिप बोरिङको पानी रहेको अधिकांशले अडकलबाजी गरिरहेकामा दुई वटा प्रयोगशाला परीक्षणको नतिजाले ती अडकलबाजीलाई गलत साबित गरिसकेको छ ।

खानेपानी संस्थान वीरगन्ज शाखाका सूचना अधिकृत एवम् इन्जिनियर सन्जीव यादव एक महिनाअघि नै संघीय ढल निकास तथा व्यवस्थापन विभाग मातहतको जनकपुर प्रादेशिक कार्यालयले वीरगन्जको विभिन्न स्थानबाट संस्थानको पानीको नमुना लगेर आफ्नो प्रयोगशालामा परीक्षण गर्दा संस्थानको पानीमा हैजाको संक्रमण नभेटिएको बताउँछन् ।

जेनजी आन्दोलनको २ दिनअघि सोही विभागले विश्व स्वास्थ्य संगठन र युनिसेफका  विज्ञ सहितको टोली ल्याएर वीरगन्जका विभिन्न स्थानका खानेपानीको प्रयोगशाला परीक्षण गर्दा पनि हैजाको जीवाणु कतैको पानीमा नभेटिएको उनले बताए । वीरगन्ज–१५ मा रहेको एक सुधारगृहमा उक्त टोली पुग्दा त्यहाँ फोहोर ड्रममा खानेपानी भण्डारण गरेको देखेर टोलीले उक्त पानी पोख्न लगाएर सचेत गरेको थियो ।

यसरी पटकपटक पानीको परीक्षण गर्दा पनि हैजाको जीवाणु नभेटिनुले पानी आपूर्ति गरिएको पाइप प्रणालीमा भन्दा पनि घर घरमा स्थानीयले पानी भण्डारण गरेर राख्ने भाँडो र माध्यम फोहोर भएर त्यसबाटै हैजा संक्रमण फैलिएको हुन सक्ने अनुमान यादव गर्छन् । वीरगन्जको मुर्ली, छपकैया क्षेत्रमा विभागको सोही टोलीले गरेको अनुगनमा अधिकांश स्थानीको घरमा खानेपानी भण्डारणको भाडोनै फोहोर पाइएको उनले बताए ।

झाडापखालाका बिरामी दोहोरिएर आउँदै

सातायता महानगरमा हैजाको संक्रमण फेरि उकालो लाग्दै छ । नारायणी अस्पतालमा सुरुमा झाडापखाला लागेर भर्ना भई उपचार गरेर फर्किएकाहरु पुनः सोही समस्या लिएर आइरहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंह सातायता पुनः हैजा र झाडापखालाका बिरामी बढेको बताउँछन् ।

हालका दिनहरुमा अस्पतालमा १२-१५ देखि २०-२२ सम्म झाडापखाला र हैजाका बिरामी आउने गरेको उनले बताए । हैजा संक्रमण सुरुवात भएको महानगरको वडा नं १२ र ११ का झाडापखालाका बिरामी दोहोरिएर अस्पतालमा आउन थालेको उनको भनाइ छ । एक पटक निको भएर गएकाहरु फेरि झाडापखाला लागेर आउनुले उनीहरुले सेवन गर्ने पानीमै समस्या रहेको सम्भावना रहेको उनले बताए ।  

सातायता वीरगन्जमा दैनिकजसो पानी परिरहेको र यहाँका नालामा अझै पनि हैजा संक्रमण फैलाउने किटाणु रहेको उनले बताए । उनका अनुसार सामान्यतया हैजाको किटाणु पाँच दिनसम्म पानीमा जीवित रहन्छ । वर्षा हुन थालेपछि नालाको जलस्तर बढेको र तिनमा रहेको किटाणु नालामा रहेका खानेपानी पाइपका लिकेजबाट पानीमा मिसेर घरघरमा पुग्न थालेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता एवम् अधिकृत जयमोद ठाकुर स्थानीय आफै सचेत र सतर्क नभए सम्म सजिलै हैजा संक्रमण नियन्त्रणमा नआउने बताउँछन् । खानेपानीको शुद्धीकरण गरेर मात्र खाने कुरामा अझै पनि धेरै स्थानीयले जागरुकता नदेखाएको उनको बुझाइ छ । सर्वसाधारणले आफूले पिउने पानी उमाल्ने वा पियूष हालेर मात्र पनि पिउने गरे धेरै हदसम्म यो समस्या समाधान भएर जाने उनले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारयाण सुवेदी भने पछिल्लो केही दिनयता हैजा र झाडापखाला संक्रमण घट्दो क्रममा रहेको दाबी गर्छन् । उनले हालसम्म हैजा फैलाउने स्रोतको यकिन हुन नसके पनि केही दिनयता स्थलगत अनुगमन क्रममा कतिपय स्थानमा खानेपानी भण्डारण गरेको स्थान र भाँडाहरु नै प्रदूषित पाइएकाले त्यहाँ शुद्धीकरणका उपाय अपनाइएको बताए ।

हैजा र यसको स्रोतबारे अझै पनि विस्तृत अध्ययन हुन नसकेकाले थप अध्ययन आवश्यक रहेको उनी बताउँछन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully