भदौ २४ गतेको प्रदर्शनका क्रममा आगलागीमा परेकी महिलाको मृत्यु

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार उनको उपचारको क्रममा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार मृत्यु भएको हो।

आश्विन ७, २०८२

शंकर आचार्य

Death of a woman caught in a fire during the demonstration on August 24

पर्सा — वीरगन्जमा भदौ २४ गते भएको प्रदर्शनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीमा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

उक्त आगजनीमा परी घाइते भएका दुई जनामध्ये पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया शोशिला देवी हजराको मृत्यु भएको हो।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार उनको उपचारको क्रममा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार मृत्यु भएको हो। हजरा रुङ्टाको घरमा काम गर्थिन्। आगलागीमा उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो।

घटना लगत्तै उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो। तर अस्पतालले रिफर गरेपछि बर्न अस्पताल भर्ना गरिएको थियो।

उक्त आगजनीको घटनामा भारत बिहारको सुगौली निवासी १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका छन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको छ। उनी पनि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्य सुधारोन्मुख छ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully