ठेकेदारले निर्माण सामग्री झारेर काम सुरुसमेत गरिसकेको छ ।
पर्सा — एक दशकदेखि निर्माण कार्य रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखा परिसरमा रहेको गोदामको पुनर्निर्माण कार्य सुरु भएको छ । कम्पनी केन्द्रीय कार्यालयले अधुरो रहेको उक्त गोदामको निर्माण कार्यलाई सम्पन्न गर्न यस बर्ष पुनः ठेक्का लगाएपछि गोदाम भवन निर्माण हुने भएको हो ।
शाखा प्रमुख पंकजकुमार झाका अनुसार, ४ सय ८८ दशमवल १२५ वर्गमिटरको गोदाम निर्माणको अधुरो काम पूरा गर्ने ठेक्का भगवती श्री राधेमाई निर्माण सेवा वीरगन्ज–१३ ले ८१ लाख ७२ हजार ७ सय ४५ रुपैयाँ ५३ पैसामा (भ्याट सहित) सकार गरेको हो ।
१ हजार मेट्रिक टन क्षमताको उक्त गोदाम भवनको निर्माणको काम साबिकको ठेकेदारले बीचमै छोडेपछि अलपत्र रहेको थियो । गोदाम भवनमा भुईंदेखि छानोसम्मको पर्खालसमेत यसअघि निर्माण भइसकेको छ । अब प्लास्टर गर्ने, छानो हाल्ने र रंगरोगन आदि गरेर भवन तयार गर्ने काम बाँकी रहेको छ । झाका अनुसार, कम्पनी केन्द्रीय कार्यालयले असार ३२ ठेकेदार कम्पनीसँग सम्झौता गरेअनुसार ठेकेदार कम्पनीले सम्झौता मितिले १ वर्षभित्र भवन निर्माण गरेर हस्तान्तरण गरी सक्नु पर्छ ।
ठेकेदारले निर्माण सामग्री झारेर काम सुरुसमेत गरिसकेको छ । शाखा परिसरमा रहेका साविकका गोदामहरू पुराना र जीर्ण भइसकेका छन् । करिब ५ वर्षअघि अमेरिका सरकारले परिसरमा एउटा गोदामसमेत निर्माण गरी दिएको छ । तर शाखामा थप गोदामको आवश्यकता महसुस गरिएको छ । यो गोदाम निर्माण भएपछि शाखालाई अन्न भण्डारणका लागि थप सहज हुने उनले शाखा प्रमुख झा बताउँछन् ।
