प्रहरी गस्ती टोलीले सानो बाख्रा राख्ने फुसको छाप्रोलाई घेरा हाली सर्च गर्दा १९ किलो १ सय २६ ग्राम चरेस फेला पारेको थियो ।
पर्सा — सशस्त्र प्रहरीले सोमबार बिहान पोखरिया नगरपालिकाबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।
सशस्त्र प्रहरीको प्रसौनीभाठा बीओपीबाट प्रहरी निरीक्षक चेतन बाह्रकोटीको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँबाट चरेस बरामद गरेको हो।
सोमबार बिहान १ बजे प्रहरी गस्ती टोलीले सानो बाख्रा राख्ने फुसको छाप्रोलाई घेरा हाली सर्च गर्दा १९ किलो १ सय २६ ग्राम चरेस फेला पारेको थियो । २ वटा कालो झोलाभित्र कार्टुनमा उक्त चरेस राखिएको थियो । चरेसको साथमा कोही पनि व्यक्ति फेला परेन ।
बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन् । जिल्लाको ग्रामीण भेगबाट भारततर्फ लागुऔषध गाजा र चरेसको तस्करी हुने गरेको छ ।
विशेष गरी मकवानपुरमा उत्पादन गरिने गाजा र चरेस पर्साको बाटो प्रयोग गरी लागुऔषध तस्कर गिरोहले भारततर्फ लैजाने गर्छन् । लागुऔषध ढुवानीका लागि पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र तथा खोलाको बाटो सहज हुने भएकाले तस्कर गिरोहले प्रायः यो बाटो प्रयोग गर्छन् ।
समय–समयमा नेपालबाट भारततर्फ जाने मालबाहक सवारी साधनमा पनि यी लागुऔषध तस्करी भइरहेको अवस्थामा बरामद हुने गरेको छ ।
