२४ गतेको प्रदर्शनमा महानगरका संरचनामा क्षति पुगेपछि नगरसभाले चालु आवको बजेट संशोधन गरेर पुन:निर्माणमा लगानी गर्ने निर्णय गरेको छ ।
पर्सा — वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनः निर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुनः निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
भदौ २४ को प्रदर्शन क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त भएको छ । नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुनः निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखेर नगरसभाले चालु आवको बजेट संशोधन गरेर उक्त कार्यमा लगानी गर्ने निर्णय गरेको हो ।
विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेस गरेका थिए । महानगरको १७औं नगर परिषदले यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटभित्र नगर स्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा स्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनः निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको हो ।
यसरी संशोधनपश्चात् करिब ३० करोड रुपैयाँ पुनः निर्माणका लागि उपलब्ध हुने भएको छ । संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुलीबत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ । संशोधित बजेटमार्फत तत्काल नगर पुनः निर्माण, भौतिक संरचना पुनः स्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइनेछ ।
विशेष अधिवेशनले जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगन्ज महानगरपालिका–१२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ ।
