४४ भूमिहीनलाई लालपुर्जा

६ दशकदेखि लालपुर्जाबिनै बसोबास गर्दै आएका दलित र अव्यवस्थित बसोबासीलाई पहिलोपटक लालपुर्जा उपलब्ध गराइएको हो।

आश्विन ४, २०८२

शंकर आचार्य

44 Lalpurja to the landless

पर्सा — पर्सामा भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थालेको छ । सखुवा प्रसौनी गाउँपालिका–१ सथवलमा शनिबार आयोजित कार्यक्रममा स्थानीय ३७ भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासी गरी ४४ जनालाई लालपूर्जा वितरण गरिएको हो।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र आयोगका अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् ।

त्यहाँ ६ दशकदेखि लालपुर्जाबिनै बसोबास गर्दै आएका दलित र अव्यवस्थित बसोबासीलाई पहिलोपटक लालपुर्जा उपलब्ध गराइएको हो। दसैंलगत्तै ठोरी गाउँपालिका–४ का १ हजार १ सय ९७ जनालाई पनि लालपुर्जा वितरण गर्ने कार्यक्रम रहेको आयोगका अध्यक्ष अहमदले जानकारी दिए ।

जिल्लामा कुल ५ हजार १ सय ७८ जनालाई लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको उनले बताए । वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाबाट प्राप्त आवेदनमध्ये शनिबार पहिलो चरणमा ४४ जनालाई पुर्जा वितरण गरिएको उनले बताए ।

यसअघि आयोगले सम्बन्धित वडा र पालिकाबाट प्रमाणीकरणसहित आवेदन संकलन गरेको थियो । त्यसपछि ३५ दिने सूचना जारी गरेर जग्गाको नाप नक्सा र प्रतिवेदन तयार पारेको थियो। त्यसपछि कार्यपालिकाबाट नामावली सिफारिस भएपछि लालपुर्जा वितरण प्रक्रिया अघि बढाइएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully