आगजनीबाट राजविराज नगरपालिकामा १५ करोड २३ लाख मूल्यबराबर क्षतिको अनुमान

आगजनीपछि केही वडा कार्यालयहरु सञ्चालनमा आए पनि नगरपालिका कार्यालय भने अझै सञ्चालनमा आउन सकेको छैन ।

आश्विन २, २०८२

विद्यानन्द राम

Estimated loss worth 150.23 million in Rajviraj Municipality due to arson

What you should know

राजविराज — आन्दोलनमा भएको आगजनीले ध्वस्त भएको सप्तरीको राजविराज नगरपालिकामा १५ करोड २३ लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले  मंगलबार दिउँसो नगरपालिकामा आगजनी गरेका थिए ।

आगजनीले नगरपालिकाको भुइँतलामा रहेका कार्यवाहक नगर प्रमुखको कार्यकक्ष, दर्ता, प्रशासन, राजस्व, जिन्सी, सामाजिक सुरक्षा तथा पञ्जिकरण र नक्सा शाखा पूर्ण रुपमा जलेको छ । सोही तलामा रहेका कानुन, न्यायिक समिति, प्रधानमन्त्री रोजगार सेवा केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सामाजिक विकास, सामी परियोजना र ऋणी परियोजनाका शाखा पनि जलेर ध्वस्त भएको कार्यवाहक नगर प्रमुख इसरत प्रविनले जानकारी दिइन् ।

दोस्रो र तेस्रो तलाका शाखाहरुमा राखिएका आवश्यक कागजात पनि निकालेर जलाइसकेको छ भने त्यहाँ भएका सरसमान तोडफोड गरी ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, पंखा र कुर्सी लुटपाट भएको छ । नगरपालिकाको पार्किङमा राखिएको एम्बुलेन्स र दुई वटा बारुणयन्त्रसहित सानो र ठूलो गरी ३ वटा टिपर, ५ वटा ट्याक्टर, स्करर्पियो, कार, एक्स्काभेटर, सिजी रिक्सा र दुई दर्जन मोटरसाइकलमा आगजनीमा नष्ट भएका छन् ।

आगजनीपछि केही वडा कार्यालयहरु सञ्चालनमा आए पनि नगरपालिका कार्यालय भने अझै सञ्चालनमा आउन सकेको छैन । ‘आगजनीबाट जोगिएको मिटिङ हलमै बसेर हामीले नगरसभा गर्ने तयारी गरिरहेका छौं,’ कार्यवाहक नगर प्रमुख प्रविनले भनिन्, ‘हाम्रो सभा पनि हुन सकेको छैन, त्यसैले पनि व्यवस्थापन गर्न अझै समस्या भइरहेको छ ।’

तत्काललाई खाली रहेका सटरहरुबाट केही शाखाहरु सञ्चालन गर्ने तयारी भइरहेको कार्यवाहक नगरप्रमुख प्रविनको भनाइ छ । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully