जलेश्वर कारागारमा २ सय १० कैदीबन्दी फर्किए

कारागार प्रमुख अशोक क्षेत्रीका अनुसार, प्रशासनले परिवारलाई फोन गरी कैदीबन्दीलाई कारागार फर्काउन प्रयास गरिरहेको छ। हालसम्म २१० कैदीबन्दी फर्किएका छन्।

आश्विन २, २०८२

सुनिता बराल

210 prisoners returned to Jaleshwar Jail

महोत्तरी — जेन-जी समूहको आन्दोलनको मौका छोपी महोत्तरीको जलेश्वर कारागारबाट फरार २ सय १० कैदीबन्दी कारागार फर्किएका छन् । आन्दोलनको समयमा कारागारबाट ५ सय ७५ कैदीबन्दी फरार भएका थिए ।

जलेश्वर कारागार प्रशासन र कारागारका नाइकेहरूले हरेक फरार कैदीबन्दीका परिवार र आफन्तलाई फोन गरेर सम्झाउँदै तिनीहरूलाई कारागार फर्काउने काममा लागेका कारागार प्रमुख अशोक क्षेत्रीले बताए ।


क्षेत्रीका अनुसार अहिले दैनिक ४/५ जना कैदीबन्दी कारागार फर्किरहेका छन् ।


महोत्तरीको बोर्डर क्षेत्रबाट भारतीय प्रहरीको सहायतामा पक्राउ परेका १२, धनुषा प्रहरीले पक्राउ गरेका ५ र स्वेच्छाले फर्किएका अन्य कैदीबन्दी गरी २ सय १० जना कारागार फर्किएका कारागार प्रशासनले जनाएको छ ।


जम्मा ५ सय ७६ कैदीबन्दी रहेका जलेश्वर कारागारबाट १ कैदी भाग्न मानेका थिएनन् ।


अन्य बाँकी फरार कैदीबन्दी पनि कारागार फर्काउन कारागार प्रशासनले पहल गरिरहेको प्रमुख क्षेत्रीले जानकारी दिए ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully