खाद्यले वीरगन्जमा सञ्चालनमा ल्यायो सुपथ मूल्यको पसल

सोमबारदेखि पसल सञ्चालनमा ल्याइएको शाखा प्रमुख पंकज झाले जानकारी दिएका छन् ।

आश्विन १, २०८२

शंकर आचार्य

Food has launched a reasonable price shop in Birganj

पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले नजिकिएको दसैं,तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ छुट मूल्य पसल सञ्चालन गरेको छ ।

सोमबारदेखि पसल सञ्चालनमा ल्याइएको शाखा  प्रमुख पंकज झाले जानकारी दिएका छन् । उनका अनुसार, कात्तिक १० सम्म सञ्चालन हुने पसलमा ८९ रुपैयाँ प्रतिकिलो पर्ने स्टिम जिरा मसिनो चामल ५ रुपैयाँ छुट दिई प्रतिकिलो ८४ रुपैयाँ, ६३ रुपैयाँ प्रतिकिलो मूल्य पर्ने अरुवा सोना मन्सुली चामलमा ५ रुपैयाँ छुट दिई प्रतिकिलो ५८ रुपैयाँमा बिक्री भई रहेको छ ।

५७ रुपैयाँ प्रतिकिलो पर्ने अरुवा मोटा चामलमा ५ रुपैयाँ छुट दिई ५७ रुपैयाँमा बिक्री भइरहेको छ । शाखाले बर्सेनि दसैंदेखि छठ पर्वसम्मलाई लक्षित गरी सुपथ छुट मूल्य पसल संचालन गर्दै आएको र बजार मूल्यभन्दा सस्तोमा चामल पाउने भएपछि पसलमा ग्राहकको आकर्षण रहने गरेको उनले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्ज शाखाले आयो नुनमा प्रतिप्याकेट २ रुपैयाँ छुट दिइएको शाखाका सूचना अधिकृत सञ्जय गुप्ताले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully