नगरपालिकाको फोहोर उठाउने गाडीमा पनि आगजनी भएर नष्ट हुँदा गत मंगलबारदेखि बजारमा फोहोर जम्मा भएको थियो ।
राजविराज — जेन–जी आन्दोलनका क्रममा सप्तरीको राजविराजमा भएका फोहोर सरसफाइ सुरु गरिएको छ । राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविनको अपिलपछि जुटेका युवा, विद्यार्थी, प्रहरी, कर्मचारी, जनप्रतिनिधि, राजनीतिकर्मी र नागरिक अगुवाहरुले संयुक्त रुपमा सरसफाइ थालेका हुन् ।
मंगलबार बिहानैदेखि उनीहरुले सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपास छरिएका प्लास्टिक, बोतल, खरानीलगायत फोहर उठाइरहेका छन् । आन्दोलनमा नगरपालिकाको फोहोर उठाउने गाडीमा पनि आगजनी भएर नष्ट हुँदा गत मंगलबारदेखि नै बजारमा फोहोर जम्मा भएको थियो ।
आन्दोलनपछि अवस्था सामान्य बन्दा यहाँका केही सार्वजनिक निकायले आ–आफ्ना कार्यालयमा सरसफाइ गरी आंशिक रुपमा सञ्चालनमा आइसकेको छ भने राजविराज नगरपालिकाका अधिकांश वडा कार्यालयहरुले पनि सेवा सञ्चालन गरिएको छ ।
आगजनीले नगरपालिकामा भएका क्षतिको विवरण पनि संकलन गर्ने कार्य अन्तिम चरणमा रहेको कार्यवाहक मेयर प्रविनले बताइन् । क्षति विवरण संकलन भइसकेपछि नगरपालिकाबाट पनि वैकल्पिक रुपमा सेवा प्रवाह गरिने उनको भनाइ छ ।
