गौर कारागारबाट भागेका दुई जना कैदी फर्किए   

कारागारमा रहेका २९१ जना कैदीमध्ये अहिलेसम्म १०६ जना मात्र छन् । १८५ जना अझै फरार छन् ।

भाद्र ३०, २०८२

शिव पुरी

Two prisoners who escaped from Gaur Jail returned

रौतहट — जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनको फाइदा उठाउँदै भदौ २४ गते रौतहटको सदरमुकाम गौरस्थित कारागार फोडेर भागेका कैदीमध्ये सोमबार दुई जना आफैं हाजिर हुन आएका छन् । योसँगै कारागारमा अहिले कारागारमा १०६ जना कैदीबन्दी छन् । 

२९१ जना कैदीमध्ये २६० जना कारागार फोडेर भागेका थिए । ३१ जना कारागारमै बसे । भागेकाहरूमध्ये अहिलेसम्म १०६ जना कारागारमा रहेको जेलर मनिष झाले बताए । कारागार प्रमुख झाका अनुसार कारागारबाट भागेकामध्ये सोमबार मौलापुरका बिहारी साह र फतुवा विजयपुरका हेमचन्द्र प्रसाद आफैं हाजिर हुन आएका छन् । उनीहरूविरुद्ध संगठित अपराध र आपराधिक उपद्रोको आरोपमा जिल्ला अदालतले पुर्पक्षको आदेश गरेको हो ।

प्रदर्शनको बहानामा कारागारबाट कैदी भागेपछि स्थानीय प्रशासनले खोजतलास सुरु गरेको छ । उनीहरूको घर ठेगानामा प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए ।

कारागारमा रहेको २९१ जना कैदीमध्ये अहिलेसम्म १०६ जना मात्र छन् । १८५ जना अझै फरार छन् । सुरुमा २६० जना फरार भएका थिए । भारतीय प्रहरी र नेपाल प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिइसकेको थियो । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully