गणका प्रमुख कर्नेल लोकेन्द्र कार्कीका अनुसार हाल हैजाको कारण सिर्जित आपतकालीन स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै तत्काललाई चिकित्सक टोली पठाइएको हो ।
पर्सा — जिल्लामा देखापरेको हैजा संक्रमण नियन्त्रण र प्रभावित स्थानीयवासीको उपचारलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको वीरगन्जस्थित श्रीजंग गणबाट प्यारामेडिक चिकित्सकहरू खटिरहेका छन् । गणबाट चारजना प्यारामेडिक चिकित्सक बिहीबारदेखि अस्पतालमा खटिएका हुन् ।
गणका प्रमुख कर्नेल लोकेन्द्र कार्कीका अनुसार हाल हैजाको कारण सिर्जित आपतकालीन स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै तत्काललाई चिकित्सक टोली पठाइएको हो । अस्पताल प्रशासनबाट रातको समयमा खटिने स्वास्थ्यकर्मीको अभाव रहेको जानकारी पाएपछि सेनाले आफ्नो टोली पठाएको उनले बताए ।
सेनाको सहकार्यबाट जिल्लामा हैजा नियन्त्रणमा महत्त्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । सेनाको चिकित्सक टोलीले अस्पतालमा उपचाररत बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उनले दाबी गरे ।
आवश्यक परेको खण्डमा १५ देखि २० जनाको चिकित्सकसहितको टोली तयारी अवस्था रहेको कार्कीले बताए । ‘हामीसँग गणमै चिकित्सकसहितको १५ देखि २० जनाको चिकित्सक टोली तयारी अवस्थामा रहेको छ,’ उनले भने, ‘अस्पतालबाट माग भएको खण्डमा उक्त टोलीलाई जुनसुकै बेला पनि परिचालन गर्न सकिने छ ।’
हाल नारायणी अस्पतालमा हैजाका कारण प्रभावित बिरामीहरूको उपचार भइरहेको छ । स्वास्थ्यकर्मीहरूले सुरक्षित खानेपानी, सरसफाइमा ध्यान दिने र आवश्यक सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् ।
यसअघि पनि प्राकृतिक विपत्ति वा आकस्मिक परिस्थितिमा नेपाली सेनाले उपचार, उद्धार तथा राहतमा अग्रसर भई स्थानीय समुदायलाई सहयोग गर्दै आएको उनले बताए ।
