तीन-चार दिनयताको तथ्यांकले नयाँ बिरामी थपिने क्रम घटेको देखिएको चिकित्सकको भनाइ छ ।
What you should know
काठमाडौँ — पर्सामा हैजाको संक्रमितको संख्या क्रमश: घट्न थालेको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले २४ घण्टामा जम्मा २८ नयाँ झाडापखाला र हैजाका बिरामी अस्पतालमा आउनुले पनि बिरामीको संख्या बिस्तारै घट्दो क्रममा रहेको पुष्टि गर्ने बताए । ‘तीनचार दिनयताको तथ्यांकले नयाँ बिरामी थपिने क्रम घटेको देखिएको छ,’ उनले भने, ‘यही अनुपातमा संक्रमित घट्दै गए एक साताभित्र झाडापखाला र हैजाका बिरामीको संख्या धेरै घट्न जान्छ ।’
सुरुमा बढी संक्रमित देखिएका वीरगन्ज महानगरको वडा नं १२ र १३ बाट पनि नयाँ हैजा र झाडापखालाका बिरामी आउने क्रम करिब रोकिएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार वीरगन्ज र पोखरियामा समेत गरी हैजा संक्रमितको संख्या २ सय २ छ ।
तीमध्ये १ सय ८८ जना वीरगन्जका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रको सम्पर्कमा आएका हुन् । १४ जना पोखरिया अस्पतालको सम्पर्कमा आएका हुन् । कुल संक्रमितमध्ये १ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । १६ अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् ।
दुई सातायता झाडापखाला र हैजाका १ हजार ५४ बिरामी उपचारका लागि आएकामा ९ सय ४९ डिस्चार्ज भई घर फर्किसकेका छन् । हाल पनि झाडापखालाका र हैजाका गरी १ सय ५ विरामी विभिन्न अस्पतालमा उपचाररत छन् । ती मध्ये ११ आइसियू, ५ एचडीयू र ८९ जनरल वार्डमा छन् ।
हालसम्म हैजा संक्रमित पुष्टि भएकामध्ये सबैभन्दा बढी नारायणी अस्पतालमा ६२, तराई अस्पतालमा ५१, नेसनल मेडिकल कलेजमा २९, वीरगन्ज हेल्थ केयर अस्पतालमा ११ र भवानी अस्पतालमा १० जना उपचारका लागि आएका छन् ।
