उद्योग, वाणिज्य, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानीय वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो सप्तरी महोत्सव हुने भएको छ ।
राजविराज — सप्तरी उद्योग वाणिज्य संघले पर्यटन र व्यापार प्रवर्द्धनका लागि राजविराजमा सप्तरी महोत्सव–२०८२ आयोजना गर्न लागेको छ । शनिबार संघले पत्रकार सम्मेलन गर्दै असोज २२ देखि कात्तिक ६ सम्म आयोजना गर्न लागेको महात्सवबारे जानकारी दिएको हो ।
उद्योग, वाणिज्य, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानीय वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो सप्तरी महोत्सव गर्न लागेको संघका अध्यक्षसमेत रहेका संयोजक लालुप्रसाद अग्रवालले बताए । राज रंगशाला मैदानमा आयोजना हुने महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रिय सामग्रीसहितका एक सय ७० वटा स्टल राखिनेछन् भने मनोरञ्जनका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम, विभिन्न किसिमका झुला, पार्कसमेत राखिने महोत्सवका सहसंयोजक अमृतकुमार संचेतीले बताए । उनका अनुसार महोत्सवमा अटोमोबाइल र ईभी अटोमोबाइल, ट्याक्टर, मोटरसाइकल, साइकल र त्यसका पार्टस् प्रदर्शनी तथा बिक्री, कृषिजन्य वस्तु, बिउ विजन, औजारको प्रदर्शन तथा बिक्री, छालाको सामग्री, माटा तथा धातुको परम्परागत भाँडाकुडा, बाँस र सिक्कीबाट बनेका सामग्रीको प्रदर्शनी तथा बिक्री, मिथिला, थारु, नेवारी र मारवाडी खानाका परिकारको प्रचारप्रसार तथा बिक्री गरिनेछ ।
यसअघि पहिलो महोत्सव २०६८ मा साढे ५ करोड रुपैयाँको कारोबार हुँदा दोस्रो २०७४ मा ७ करोड रुपैयाँको कारोबार भएको थियो । यसपटक ४ लाख दर्शक तथा उपभोक्ता सहभागी हुने महोत्सवमा १० करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ ।
