गागन खोलाको किनारमा सार्वजनिक जग्गामा १५ वर्षदेखि बस्दै आएका गणपतिको परिवारलाई छिमेकीहरूले अछूत बस्दा अशुभ हुने भन्दै बस्तीभन्दा पर खोलाको बगरमा सर्न पटकपटक धम्की दिँदै आएका थिए ।
What you should know
सिरहा — सिरहामा डोम परिवारमाथि कुटपिट गर्नेहरू अझै पक्राउ पर्न सकेका छैनन् । सुखीपुर नगरपालिका-१० विश्वकर्मा चोकमा बसोबास गर्दै आएका गणपति मल्लिक डोमको परिवारमाथि अछूत भन्दै कुटपिट गर्नेहरू अझै पक्राउ पर्न नसकेका हुन् ।
गागन खोलाको किनारमा सार्वजनिक जग्गामा १५ वर्षदेखि बस्दै आएका गणपतिको परिवारलाई छिमेकीहरूले अछूत बस्दा अशुभ हुने भन्दै बस्तीभन्दा पर खोलाको बगरमा सर्न पटकपटक धम्की दिँदै आएका थिए । तर, नमानेका उनको परिवारमाथि बुधबार बिहान ती छिमेकीहरूले कुटपिट गरेका थिए ।
स्थानीय छिमेकी सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, श्यामसुन्दर महतोलगायतले उनको परिवारमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट गणपतिकी ५० वर्षीया पत्नी सुमित्रा मल्लिक गम्भीर घाइते भएकी थिइन् भने छोरीज्वाइँ सञ्जय मल्लिकलाई पनि चोटपटक लागेको थियो ।
घटनालगत्तै बुधबार नै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा उजुरी दिएका थिए । शुक्रबार पीडितले इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा पाँच जनामाथि भेद्भाव तथा जातीय छुवाछूतसम्बन्धी कसुरमा किटानी जाहेरी नै दर्ता गराएका छन् । तर, प्रहरीले आरोपितहरूलाई अझै पनि पक्राउ गर्न सकेको छैन । सिरहाले प्रहरीले भने उनीहरूको खोजीकार्य भइरहेको दाबी गरेको छ । 'जाहेरी दर्ता गरेर आरोपितहरूको खोजी गर्दैछौं,' सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले भने, 'चाँडै रिजल्ट दिन्छौं ।'
