विद्यालयमा खाजा खाएर बिरामी भएका विद्यार्थी अस्पतालबाट घर फर्के

पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माविमा बिहीबार दिउँसो सुजिको हलुवा खाएर विद्यार्थीहरु अचेत भएपछि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गराइएको थियो ।

भाद्र १९, २०८२

सन्तोष सिंह

Students who fell ill after eating lunch at school returned home from the hospital

महोत्तरी — महोत्तरीको आदर्श माध्यमिक विद्यालय रतौलीमा दिवा खाजा खाएर अचेत भएका विद्यार्थीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माविमा बिहीबार दिउँसो सुजिको हलुवा खाएर विद्यार्थीहरु अचेत भएपछि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गराइएको थियो ।

विद्यार्थीको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

कक्षा ५ सम्मका १ सय ७१ जना विद्यार्थीमध्ये खाजा खाएका ८५ जना विद्यार्थी खाजा खाएर अचेत भएको र उनीहरुलाई अस्पताल भर्ना गराएपछि कुनै समस्या नदेखिएको प्रदेशिक अस्पताल जनकपुरका चिकित्सक उज्वल झाले बताए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार खाजामा छेपारो देखिएको र खाजा खाएका विद्यार्थीको अचेत भएपछि अभिभावक आत्तिएका थिए ।

आदर्श माध्यमिक विद्यालय रतौलीका प्रधानध्यापक दिनेशकुमार दासले खाजामा कुनै समस्या नभई केही स्थानीयले अपवाह फैलाएर विद्यार्थीहरुलाई अस्पताल लगेको दाबी गरे । 

यता विद्यालयले बिहीबार विद्यार्थीलाई खुवाएको खाजाको नमुना संकलन गरी सम्बन्धित निकायलाई परीक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद रिसालले दिवा खाजाबारे हल्ला भएपछि विद्यार्थीहरु आत्तिएको अवस्थामा अस्पताल भर्ना गरिएको बताए । 'विद्यार्थीमा कुनै समस्या आएको देखिएन,' रिसालले भने,‘हल्ला भएपछि स्वाभाविक रुपमा विद्यार्थी डराउने हो । यथार्थ अनुसन्धानबाट खुल्ने छ ।’

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully