प्रहरी भन्छ–‘किरणले आफू आवेशमा आएर धम्की दिएको स्वीकारेकी छिन्’
What you should know
पर्सा — संघीय खानेपानी मन्त्री प्रदीप यादवलाई टेलिफोनबाट 'ज्यान मार्ने धम्की दिएको' आरोपमा पक्राउ परेकी टिकटकर किरण साह लगातार दुई पटक अस्पतालमा भर्ना भएकी छन् । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो । केही समयपछि स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेर उनलाई पुनः जिल्ला प्रहरी कार्यालय लगिएको थियो ।
बुधबार बिहान फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई पुनः अस्पतालमा भर्ना गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
‘मंगलबार राति करिब ८ बजे अस्पतालमा लगेर केहीबेरको उपचारपछि फिर्ता ल्याइएको थियो,’ उनले भने, ‘बुधबार बिहान पुनः पेट दुखेको र बान्ता आएको बताएपछि साहलाई बिहान १० बजे फेरि अस्पताल लगिएको थियो ।’ उपचारपछि दिउँसो करिब २ बजे उनलाई फर्काइएको डिएसपी लम्सालले बताए ।
बाराको कलैया उपमहानगरपालिका – २६ घर भई हाल वीरगञ्ज महानगरपालिका– १३ मुर्ली बस्दै आएकी उनले वीरगञ्जमा हैजा संक्रमण फैलिएको र आफ्नो परिवारजनहरु अस्पतालमा भर्ना भएको तर मन्त्री यादवले हैजा नियन्त्रणका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै टेलिफोनबाट उनलाई गालीगलौज गर्दै 'ज्यान मार्नेसम्मको धम्की दिएको' आरोप लागेको छ ।
मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा घटनापछि पर्सा प्रहरीले शनिबार साहलाई नियन्त्रणमा लिएको थियो । साहविरुद्ध साइबर क्राइम, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको गरी तीन कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत दुई पटक अनुसन्धानका लागि भन्दै तीन–तीन दिनको म्याद लिइसकेको छ । दोस्रो पटक थपिएको म्याद बिहीबार सकिँदै छ ।
डिएसपी लम्सालले किरणको सम्बन्धमा अनुसन्धान जारी रहेको बताएका छन् । प्रहरीले गरेको सोधपुछको क्रममा साहले आफूले आवेगमा आएर मन्त्री यादवलाई ज्यान मार्ने धम्की दिएकोसम्म स्वीकारेको उनले बताए ।
‘हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘किरणले सोधपुछको क्रममा तत्कालीन परिस्थितिको कारण आफूले आवेशमा आएर मन्त्री यादवलाई ज्यान मार्ने धम्की दिएको स्वीकारेकी छिन् । थप सोधपुछ गरिरहेका छौं । बिहीबारसम्म पनि अनुसन्धान नसकिए फेरि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउनुपर्ने हुन्छ ।’
उनले फौजदारी प्रकृतिको जाहेरी रहेको र प्रहरी कार्यालयमै जाहेरी दर्ता भइसकेकाले अब यो मुद्दामा कुनै पनि खालको आदेश न्यायालयले नै गर्ने डिएसपी लम्साल बताउँछन् । ‘अब दुवै पक्षले चाहेर हामी मिल्छौं भनेर प्रहरीले दुवैलाई मिलाएर पठाइ दिने भन्ने अवस्था रहेन,’ उनले भने, ‘साहलाई दण्ड, जरिवाना वा सफाइ के दिने हो त्यो अदालतले गर्ने हो, प्रहरीले गर्न सक्दैन ।’
बुधबार साहले वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई पनि मन्त्री यादवकै शैलीमा फोन गरेको टेलिफोन संवाद सामाजिक सञ्जालको माध्यमबाट बाहिरिएको छ । बुधबार नै साह र अर्की एक अज्ञात महिलाले मन्त्री यादवसँग साहले टेलिफोन संवाद गरेपछि सामाजिक सञ्जालबाट उक्त संवाद सार्वजनिक गर्नुअघि आपसमा टेलिफोनमै कुराकानी गरेको टेलिफोन संवाद पनि भाइरल भइरहेको छ ।
अर्की एक महिलासँग साहले गरेको व्यक्तिगत संवाद उनकै मोबाइलबाट प्रहरीले प्राप्त गरेको र प्रहरीबाटै लिक भएको हो कि भनी अडकलबाजी समेत गरिँदै छ ।
किरणको रिहाइ र उनलाई कारबाहीको माग गर्दै वीरगन्जमा महिलाहरुले छुट्टाछुट्टै प्रदर्शन गरिसकेका छन् । यो प्रकरण हाल सामाजिक सञ्जालमा निकै चर्चामा छ । केहीले मन्त्री यादवले साहविरुद्ध जाहेरी दिन लगाएर गलत गरेको तर्क गर्दै छन् भने केहीले साहले जेलै बस्नुपर्ने र तीन वटा मुद्दा खेप्नुपर्ने गरी त्यति ठूलो कसुर नगरको तर्क गर्दैछन् ।
करिब तीन महिनाअघि पनि आरोपित किरण साहले रौतहटका नेता तथा संघीय सांसद प्रभु साहलाई यसरी नै सामाजिक सञ्जालबाट अपशब्द प्रयोग गरेको किरण साहकै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यति बेला नेता प्रभु साहले कुनै कानुनी उपचार नखोजेपछि त्यो मामिला सेलाएको थियो । बलिउड अभिनेता गोविन्दालाई उनले रौतहटमा निम्त्याएको र आफूहरु जस्तो स्थानीय कलाकारलाई अवसर नदिएको भन्दै किरण साहले उक्त भिडियोमा आक्रोश पोखेकी थिइन् ।
