रञ्जिता आफ्नै कोठामा झुन्डिएको अवस्थामा र उनका जेठा छोरा एरोन खाटमुनि मृत अवस्थामा फेला परेपछि अनुसन्धान सुरु गरिएको छ।
सिरहा — सिरहाको लहान नगरपालिका–१ स्थित मटियर्वामा आमा–छोरा मृत फेला परेका छन् । लहान नगरपालिका–१२ भोटिया टोल घर भई मटियर्वामा डेरामा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मृत भेटिएका हुन् ।
मंगलबार बिहान करिब ११ बजे रञ्जिता आफ्नै कोठामा झुन्डिएको अवस्थामा र एरोन कोठामा रहेको खाटमुनि मृत फेला परेको प्रहरीले जनाएको छ । एरोन रञ्जिताका जेठा छोरा हुन् ।
एरोनको विषादी सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै, घाइते अवस्थामा जीवितै भेटिएका उनका नौ महिनाका कान्छो छोरा लहानस्थित एक निजी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
मृत आमा–छोराको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ । रञ्जिताका श्रीमान प्रवीण चौधरी स्थानीय प्लाइउड फ्याक्ट्रीमा काम गर्दै आएका छन् ।
लहान–१ का वडाध्यक्ष युगलकिशोर चौधरीका अनुसार, रञ्जिताको श्रीमानसँग विगत केही दिनदेखि झगडा हुँदै आएको थियो । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए ।
