नयाँ बिरामी भर्ना हुने दर र उपचार गरी घर फर्किने दर समान भए पनि नयाँ बिरामी देखिने क्रम नरोकिँदा चिन्ताको विषय बन्दै गएको छ ।
What you should know
पर्सा — रोकथामका लागि जारी प्रयासका बीच पर्सामा हैजा संक्रमण झन् झन् बढ्दो छ । जिल्लामा संक्रमितको संख्या अब दुई सय नजिक पुगेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयले मंगलबार साँझ ५ बजे सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, वीरगन्ज महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १ सय ८० पुगेको छ । तीमध्ये ११ अझै विभिन्न अस्पतालमा उपचाररत छन् । १ सय ६९ डिस्चार्ज भई घर फर्केका छन् ।
वीरगन्जस्थित विभिन्न अस्पतालहरुमा मंगलबार साँझसम्ममा ९ सय १३ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । तीमध्ये ८ सय ४३ डिस्चार्ज भई घर फर्केका छन् । ७० जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् । २४ घण्टामा झाडापखाला तथा हैजाका ३७ नयाँ बिरामी थपिएका छन् ।
उता पोखरिया अस्पतालमा सम्पर्कमा आएका झाडापखालाका बिरामीमध्येमा पनि हैजा संक्रमितको संख्या १७ पुगिसकेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा अब हैजा संक्रमितको संख्या १ सय ९७ पुगेको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह अघिल्ला वर्षहरुमा पनि यो अस्पतालमा यसै सिजनमा दैनिक रुपमा ८ देखि १० जना झाडापखालाका बिरामी उपचारार्थ आउने गरेकोमा यस वर्ष त्यसै अनुपातमा र थप केही बिरामी आइरहको उनले बताए । हाल झाडापखाला र हैजाकासमेत बिरामीलाई निःशुल्क उपचार भइरहको उनले बताए । कतिपय बिरामी एक/दुई घण्टा उपचार गरेर घर फर्किनेहरु पनि रहेको उनले बताए ।
दैनिक तथ्यांकले नयाँ बिरामी भर्ना हुने दर र उपचार गरी घर फर्किने दर समान देखिए पनि नयाँ बिरामी देखिने क्रम नरोकिँदा भने चिन्ताको विषय बन्दै गएको छ । प्रकोप फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले एक सातादेखि यहाँका सम्पूर्ण शिक्षण संस्था नै मंगलबारसम्मका लागि बन्द गराएको छ ।
सरकारीदेखि गैरसरकारी संस्थाहरुको लामो प्रयासपछि पनि वीरगन्जमा हैजाको वास्तविक स्रोतबारे अझै यकिन हुन सकेको छैन । सुरुमा अनुमान गरिए जस्तो विभिन्न प्रयोगशालाहरुको नतिजाले वीरगन्ज महानगरमा खानेपानी संस्थान र डिप बोरिङ दुवै पानीमा हैजाको जीवाणु भेटिएन । यस्तो अन्योलको अवस्थामा सर्वसाधारण पनि अन्योलग्रस्त एवम् सशंकित छन् ।
